बागलुङ/कुनैबेला मानिसको चहलपहल हुने बुर्तिवाङको दरवार होटल अहिले सुनसान जस्तो देखिन्छ । छिटफुट पाहुना आउँछन्, बस्छन् जान्छन् । तर, यहाँ रौनकता केही छैन ।
होटल मात्र हैन, होटलले चर्चेको ६ रोपनी बढी जमिनमा रहेको चउर उजाडिएको छ । सँगैका अन्य घरमध्ये भक्तपुरे मोडलको घर धुलो जमेको छ । यहाँ ढोरपाटन नगरपालिकाका प्रमुख समेत रहेका इमेज बचत तथा ऋण सहकारीका संस्थापक देवकुमार नेपाली बस्थे ।
नेपाली अघिल्लो वर्षको जेठ ५ गतेदेखि बेपत्ता छन् । सहकारी ठगीमा उनीविरुद्व १ हजार ५ सय ४३ जनाको जाहेरी प्रहरीमा छ । सरकारी वलिलको कार्यालयले नेपालीविरुद्ध सहकारी ठगी गरेको आरोपमा जिल्ला अदालत बागलुङमा मुद्दा चलाएको छ ।
नेपाली हिंडेपछि दरबार होटल पनि बन्द भयो । चहलपहल हट्यो । उनी बस्दै आएको भक्तपुरे घरमा ताला लागेको छ । अगाडिको कुकुरको मुर्तीले मात्रै घर कुरेको छ । ७ तले दरवार होटल अहिले त बैंकले लिलामीको सूचीमा राखेको छ । झण्डै २ अर्ब ठगी गरेको आरोपमा बचतकर्ताले नेपालीविरुद्ध जाहेरी दिएका थिए । गत माघ पहिलो साता नेपालीविरुद्ध रेडकर्नर नोटिस जारी भएपनि नेपाली र उनकी पत्नि छेला पक्राउ परेका छैनन् । उनीहरुको सम्पत्ति भने बैंकले लिलामी गर्ने सूचना निकालेको हो ।
नेपालीले भने चिया, पान पसल र ज्यालामजदुरी गरेर कमाएकाहरुले सहकारीमा जम्मा गरेको रकम हिनामिना गरेका हुन् । नेपालीले बचतकर्ताको १ अर्ब ६५ करोड हिनामिना गरेका छन् । ती होटल र घर राखेर बैंकहरुको झण्डै १ अर्ब ऋण लिएकोले बैंकको लिलामीमा परेको हो । होटल बनेको घर राष्ट्रिय सहकारी बैंकले लिलामीमा निकालेको हो । अन्य घरजग्गा फरक फरक बैंकमा धितो राखिएको छ । सहकारी ठगीको आरोपमा रेडकर्नर नोटिस जारी भएका नेपालीलाई पक्राउ गर्ने विषयमा प्रहरीले चासो भने नराखेको पीडितले गुनासो गरे । ‘पक्राउ परेभने केही न केही फरक हुन्थ्यो, तर प्रहरीले चासो नै राखेको छैन’ इमेज बचत तथा ऋण सहकारी संस्थाको पीडित संघर्ष समितिका संयोजक डिलबहादुर कार्कीले भने, ‘राज्यले पनि हामीलाई साथ दिएन ।’
संसारको जुनसुकै देशमा भएपनि पक्राउ गर्न सक्ने गरी नोटिस जारी भएपनि उनी पक्राउ नपरेका हुन् । बरु भारतको दिल्ली र मुम्बइमा बसेर नेपालीले पटक पटक बागलुङका आफन्त, नेता र कार्यकर्तालाइ टेलिफोनमा कुरा गर्ने गरेको पीडितले बताएका छन् । संघर्ष समितिकै अर्का सदस्य मञ्जु शर्माले होटल लिलामी हुन नदिन बिजुलीको पैसा तिरेर पीडितबाटै होटल संचालन प्रयास गरेको बताइन् ।
पीडितको जाहेरीको आधारमा सहकारीका अन्य पदाधिकारी चित्रबहादुर भण्डारी, नरमती बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगर पक्राउ परेका हुन् । उनीहरुलाई जिल्ला अदालत बागलुङको गत साउन ५ गतेको आदेशले पुर्पक्षका लागि थुनामा पठाएको हो । भण्डारी, बुढा र किसान साउन ५ गते नै थुनामा गएका थिए भने सोही आदेशकै आधारमा परियार र बुढामगर पुस पहिलो साता पक्राउ परेका हुन् ।
सम्पत्ति शुद्दिकरणको चर्चा
सम्पत्ति शुद्दिकरण विभागले भने नेपालीविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको भन्दै सम्पत्ति शुद्दिकरण मुद्दा चलाउन अनुसन्धान फाइल सरकारी वकिलको कार्यालय बागलुङमा पेश गरेको छ । १ हजार पृष्ठको उक्त फाइल अध्ययन गरिरहेको सरकारी वकिल स्वतन्त्र न्यौपानेले बताए । ‘ठूलो फाइल छ, अध्ययन गर्दैछु, अध्ययन सकेपछि मुद्दा लाग्ने नलाग्ने ठहर हुन्छ’ न्यौपानेले भने, ‘नेपालीलाई शुद्दिकरण मुद्दा लगाएर १ हजार ५ सय ४३ जना बचतकर्ताको रकम ढुस हुन्छ ।’
शुद्दिकरणमा मुद्दा चल्दा नेपालीले आर्जन गरेको सबै रकम राज्यकोषमा पुग्ने उनले बताए । पीडितले भने आफ्नो बचत रकम अपचलन भएकोले संघर्ष गर्दै आइरहेका छन् । सरकारी वकिलको कार्यालय बागलुङका अनुसार नेपालीले नक्कली ऋणी खडा गरेर रकम भने आफ्नो नाउँमा निकाल्थे । त्यो रकम पनि अन्यत्र कतै लगेको देखिन्छ ।





