बागलुङ/भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दूध उत्पादक किसानलाई १६ लाख ५७ हजार अनुदान वितरण गरेको छ । व्यावसायिक रूपमा पशुपालन गरिरहेका किसानलाई प्रोत्साहन गर्न केन्द्रले गत आर्थिक वर्षमा अनुदान स्वरुप उक्त रकम वितरण गरेको हो ।
केन्द्रले जिल्लाका ६ वटा सहकारीमार्फत दूध बिक्रीवितरण गर्ने किसानलाई उत्पादनका आधारमा अनुदान वितरण गरेको केन्द्र प्रमुख डा. ऋषिराम सापकोटाले बताए । कार्यालयले प्रतिलिटर दुई रुपैयाँ ५० पैसाका दरले अनुदान उपलब्ध गराएको हो । ‘स्थानीय तहमा उत्पादनमा आधारित अनुदान कार्यक्रम भएपनि विज्ञ केन्द्रसँग किसान जोडिनु भएको छ’ सापकोटाले भने ‘संस्थागत बिक्रीका आधारमा मात्रै अनुदान दिने मापदण्ड भएकाले संस्थागत बिक्री नगर्ने किसानहरु अझै छुट्नुभएको छ ।’
कतिपय स्थानीय तह आफैले दूधमा अनुदान दिने कार्यक्रम सञ्चालन गरेका छन् । त्यस्ता ठाउँमा दोहोरिने भएकाले विज्ञ केन्द्र वा स्थानीय सरकारमध्ये कुनै एकको अनुदान लिन आग्रह गरेको छ । उत्पादनका आधारमा अनुदान दिन थालेपछि किसान दुग्ध उत्पादनतर्फ आकर्षित भएकाले जिल्ला दूधमा आत्मनिर्भर बन्न सहयोग पुगेको विज्ञ केन्द्रको बुझाई छ ।
कार्यालय तथा सरोकारवालाले पशुपालनमा अनुदानको व्यवस्था गरेपछि पछिल्लो केही वर्षयता बागलुङ दूध र मासु आत्मनिर्भर बनेको छ भने अण्डामा आत्मनिर्भर उन्मुख छ । प्रतिव्यक्ति प्रतिवर्ष न्यूनतम ९१ लिटर दूध आवश्यक पर्नेमा बागलुङमा ९३ लिटर उपलब्धता छ । त्यस्तै ९४ केजी मासु आवश्यक पर्नेमा ९६ केजी मासु उपलब्धता छ । साथै, ४८ गोटा अण्डा आवश्यक पर्नेमा ४६ गोटा अण्डा उपलब्धता छ ।
‘दूध र मासु निर्यात हुन्छ, यो संगठित किसानको तथ्यांक हो, किसान आफैले बजार पु¥याएर बिक्री गरेको अझै धेरै परिणाममा निर्यात हुन्छ,’ विज्ञ केन्द्रका वरिष्ठ पशु प्राविधिक केशव शर्माले भने, ‘हामी अत्यावश्यक पशुजन्य उत्पादनमा आत्मनिर्भर हुने चरणमा छौं ।’
विज्ञ केन्द्रले चालु आर्थिक वर्षमा बाँझो जग्गामा घाँसखेती गर्नेलाईसमेत अनुदान उपलब्ध गराएको छ । घाँसखेती प्रवर्द्धन कार्यक्रममार्फत घाँसखेती गर्ने किसानलाई प्रतिरोपनी तीन हजारका दरले अनुदान उपलब्ध गराइएको छ ।





