पोखरा/ गण्डकी विश्वविद्यालयले मास्टर्समा आर्टिफिसियल इन्टेलीजेन्स (एआई अर्थात कृत्रिम बौद्धिकता) पढाउने भएको छ । मास्टर्स अफ ईनफर्मेशन टेक्नोलोजी (एमआईटी एआई) अन्तर्गत पढाउन लागिएको यो विषय नेपालमा मात्र नभई एसियामै पहिलो पटक रहेको र यसले एउटा ईतिहास रचेको विश्वविद्यालयले जनाएको छ । यो कार्यक्रमको गण्डकी प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्यमन्त्री बिन्दुकुमार थापाले बुधवार सार्वजनिक गरे ।
उपकुलपति नवराज देवकोटाले कसैले नआँटेको काम आफुहरुले आँटेको भन्दै सबै पक्षबाट आवस्यक साथसहयोग रहने विश्वास गरे । समयले प्राविधिकरुपमा फड्को मारिरहेको र यसलाई टेकेर अघि नबढे पछि परिन्छ भन्दै विश्वविद्यालयले सूचना प्रविधिलाई मुख्य कार्यक्रमको रुपमा संचालन गर्दै आएको उनले सुनाए । गण्डकी प्रदेश सरकारबाट संचालित विश्वविद्यालयले हालसम्म स्नातक तहमा विभिन्न ५ वटा कार्यक्रमहरु संचालन गर्दै आएकोमा मास्टर्स तहको पहिलो कार्यक्रमका रुपमा एमआइटी एआई सुरु गरेको हो । २०७६ मा स्थापना भएको विश्वविद्यालयले छोटो अवधिमा राम्रो पहिचान बनाउन सफल भएको देवकोटाले दावी गरे ।

एमआईटी एआईबारे जानकारी दिदै विश्वविद्यालयका विज्ञान तथा प्रविधि संकायका डीन डा.कपिल अधिकारीले लामो प्रक्रियाबाट पाठ्यक्रम बनाउँदै यहाँसम्म आईपुगिएको बताए । ‘एआई मान्छेले बनाएको एटम बम पछिको दोस्रो ठूलो आविस्कार हो’ उनले भने, ‘नेपालमा पर्यटन भन्दा आईटीले रेभेन्यू बढी दिएको छ । भविष्यमा आईटीको पनि गन्तव्य नेपाल बन्नसक्ने भएकाले जोड दिएका हौ ।’ एआईले कतिपयको रोजगारी खोसेको भए पनि नयाँनयाँ कामको सिर्जना गरेको उनले बताए । एआईले नेपाल जस्ता देशलाई धेरै फाईदा पुग्ने भन्दै उनले यसबाट आईटीको सुन्दर हब बनाउन सकिने विश्वास ब्यक्त गरे । आगामी सेप्टेम्बरको पहिलो सातादेखि कक्षा संचालन हुनेगरी तयारी गरिएको उनले बताए । विश्वविद्यालयहरु शिक्षित बेरोजगार उत्पादन गर्ने थलोमात्रै भएको जनगुनासो आएका बेला पढ्दापढ्दै वा पढिसकेपछि उच्च मागको दक्ष जनशक्ति तयार पार्ने योजना अनुसार यो विषय पढाउन लागिएको उनको भनाई थियो । ‘ज्ञानको ‘ट्रान्सफर’ नभई ज्ञान कसरी सिर्जना गर्न सकिन्छ भन्नेमा लागेका छौ’ उनले भने, ‘एआईबाट काम मात्रै गर्ने भन्दा पनि अरुलाई पनि काम दिनेगरी जव सिर्जना पनि गर्न सकिन्छ ।’ एआईको विशेषताबारे बताउँदै उनले एआई एउटा टुल्स अर्थात मेशिन रहेको र यसको जति प्रयोग गरियो उतिनै सिर्जना गर्न सकिने उनले बताए । यसका लागि सामाजिक र प्रकृति विज्ञानसंग जोड्न सकेमा अझै ज्ञान र सीप बढ्ने उनले बताए ।
यो विषयको कोर्स २ वर्ष अर्थात् ४ सेमेस्टरको रहनेछ । प्रत्येक वर्ष बढीमा २० जना विद्यार्थीमात्रै भर्ना लिइने उनले सुनाए । एमआईटी एआईमा भर्ना हुनका लागि विज्ञान, ईन्जिनियरिङ र आईटीसंग सम्बन्धित विषयबाट स्नातक उत्तीर्ण हुनुपर्नेछ । विदेशी विद्यार्थीले पनि पढ्न पाउनेछन । नीजि र सरकारीलगायत विभिन्न क्षेत्रसंग आवस्यक समन्वय गरिने पनि उनले बताए । आर्थिक, दक्ष जनशक्तिलगायत स्रोतको सिमितता, एआईबारे नियमन नहुने र द्रुतरुपमा भएको आईटीको बिकासजस्ता चुनौति पनि डीन अधिकारीले देखेका छन ।
एमआइटी एआइको सार्वजनिक गर्दै गण्डकी प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्यमन्त्री बिन्दुकुमार थापाले यस्ता खालका प्राविधिक बिषयको पढाईले विश्वविद्यालय शैक्षिक बेरोजगार उत्पादन गर्ने थलो मात्र हुन भन्ने गुनासोको सम्बोधन गर्ने बताए । बजारले चाहेको जनशक्ती उत्पादन गरेमा रोजगारीका लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य हुने र विदेश गए पनि प्राविधि ज्ञान र सीप लिएर जाँदा मर्यादित रुपमा काम गर्नसक्ने वातावरण हुने उनले बताए । ‘अहिलेको अवस्थामा एआईको ठूलो स्कोप रहेका छ’ उनले भने ‘ गुणस्तरीय शिक्षामा विश्वविद्यालय अघि बढेको छ । विद्यार्थी अव रोजगारीका लागि भौतारिनुपर्ने अवस्थाको निर्मुल हुनुपर्छ । विश्वविद्यालयले गरेको मेहनतबाट म खुशी छु् ।’ उनले विश्वविद्यालय प्रतिस्पर्धात्मक भन्दा पनि अन्य विश्वविद्यालयसंग समन्वय र सहकार्य गरी अघि बढ्नुपर्ने बताए । प्रदेश सरकारले संचालन गरेको विश्वविद्यालय भएकाले आवस्यक सहयोग जारी रहने उनले प्रतिवद्धता जनाए ।

विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले स्नातकबाट मास्टर्स लेबलमा प्रवेश गर्दा बल्ल विश्वविद्यालयको अनुभूति भएको बताए । प्रदेश सरकारले बनाउन लागेको आईटी पार्क विश्वविद्यालयलाई दिएमा विदेशी निकायसंग मिलेर सूचना प्रविधि सम्बन्धमा काम गर्न सकिने उनको भनाई थियो । प्रदेश सरकारले दिने सहयोग अनुदानका रुपमा सिधै दिएमा थप जिम्मेवारी भएर काम गर्ने हौसला मिल्ने उनले जनाए । विश्वविद्यालयका रजिष्ट्रार कैलाश तिमिल्सिनाले स्नातकबाट उठेर ग्रयाजुयटको कोर्समा प्रवेश गर्न पाउँदा खुशी लागेको बताए । २ वर्ष भन्दा बढी समय खर्चिउर यो कार्यक्रम आज सार्वजनिक गरिएको उनको भनाई थियो । विश्विद्यालयले लोकल रक्सीलाई ब्रान्डीङलगायत अन्य अनुसन्धानमुलक काममा पनि लागिपरेको उनले सुनाए । कार्यक्रमको संचालन विश्वविद्यालयका सहायक प्रशासक डोलराज सुवेदीले गरेका थिए ।





