बागलुङ/अघिल्ला वर्ष पर्यटनका स–साना योजना मात्रै थिए । चालु वर्षका लागि भने बागलुङ नगरले देखिने गरी योजना संचालन गर्दैछ ।
वडा नं. ९ तित्याङको डोयमा नगर गौरवको योजना स्वरुप पर्यटन प्रर्वद्दनको काम शुरु भएको हो । गत आर्थिक वर्ष ७० लाख लगानी गरेर सुरु भएको योजना चालुवर्ष भने गौरवको योजनाको रुपमा २ करोड ५० लाख विनियोजन भएको हो । एउटै योजनामा यतिधेरै रकम विनियोजन भएको यो मात्रै हो ।
सदरमुकामबाट नजिकै भएपनि डोयमा सामान्य पूर्वाधार समेत थिएनन् । सडकको ट्रयाक खुलेर पनि अप्ठ्यारो छ । जोखिम मोलेर पुग्न सकिने भएपछि डोय पुगेपछि आर्कषक दृश्यावलोकन देखिन्छ । उत्तरतर्फ एकदर्जन हिमाली श्रृंखला र सदरमुकाम बागलुङ बजारसहित पर्वतका अधिकांस डाँडा अबलोकन गर्न सकिन्छ ।
आर्कषक स्थल भएकोले सडक स्तरीय बनाउँदा यो स्थानलाई पोखरा आसपासका डाँडाझैं पर्यटक लैजान सकिने गरी पूर्वाधार बनाउने लक्ष्य राखिएको हो । यहाँ अग्लो शिवमुर्ती बनाउने, वनभोज स्थल निर्माण गर्ने र स्थानीय कला, संस्कृति, उत्पादनको प्रचार र बजारीकरण गर्ने लक्ष्य राखिएको नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बताए ।
समुन्द्री सतहदेखि २ हजार मीटर उचाइमा रहेको यो बस्तीमा पर्यटकीय केन्द्र बनाउँदा सदरमुकाममा आउने पाहुना पु¥याउन सकिने श्रेष्ठले विश्वास गरे । ‘पर्यटकका लागि सहज यातायात र सदरमुकामबाट नजिकै आर्कषण स्थलमा पुग्ने ठाउँ उपयोगी हुन्छ,’ उनले भने, ‘नगरपालिकाले यो क्षेत्रलाई गौरवको आयोजनामा समावेश गरिसकेको छ ।’ गतवर्ष ७० लाख लगानी गरेर यहाँको जमिन सम्याउने, संरक्षणका लागि पर्खाल निर्माण, पर्यटकीय क्षेत्र र अग्लो मुर्ती बनाउने जमिन तयार भएको छ भने नजिकै सुरक्षाकर्मी बस्ने घर बन्दैछ ।

डोय सँगैका गाउँलाई समेत शुद्द पानी खुवाउने योजना अनुसार यहाँ खानेपानीको ट्यांकी निर्माण भैसकेको छ । नजिकैको मुलबाट पानी जोडिने छ । वडा अध्यक्ष राजु थापाले गुरुयोजना अनुसारका काम पुरा गरिसक्दा महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्ने बताए । त्यसका लागि आगामी आर्थिक वर्षका लागि पनि नगरपालिकाले गौरवको आयोजना भन्दै २ करोड ५० लाख बिनियोजन गरेको हो । नगर स्तरीय योजना वडा तहमा संचालन भएको यो नै सबैभन्दा ठूलो हो ।
‘हामीले डिपिआर बनाइसकेकोले आगामी वर्ष सहज रुपमा काम हुनेछ,’ इन्जिनियर दीपेन्द्र भण्डारीले भने, ‘यहाँ पुग्ने सडक पनि स्तरीय बनाउने लक्ष्य छ ।’ यो सडक बनिसक्दा बागलुङकै विकट मानिने रायडाँडा पुग्न पनि सहज हुनेछ । त्यहाँ रहेको शान्ति गुम्बाको प्रचार र पर्यटन प्रवद्र्धनमा पनि सहज हुनेछ ।
संरचना बन्ने भएपछि स्थानीय खुसी भएका छन् । बजार झरेकाहरुले पनि गाउँमा खेती किसानीमा लगानी बढाएका छन् । गाउँमा बाँझीएको खेतमा तरकारी लगाउने, बाख्रापालन तथा घरहरुमा होमस्टेको रुपमा विकास गर्ने योजना स्थानीयले बताए । ‘यो विकास संभव भयो भने हाम्रो गाउँमा पर्यटक स्वागत गरेर पनि आम्दानी गर्न सकिन्छ,’ स्थानीय कृष्ण खड्काले भने, ‘पर्यटक भित्र्याउने योजनामा हामी पनि सहयोग गर्छौ ।’ यो योजनासँगै नगरपालिकाले सदरमुकाम बागलुङ बजारदेखि डोयसम्म पदमार्ग बनाउने योजना पनि ल्याएको छ ।





