बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पोखरा विश्वविद्यालयको ४१ करोड ४३ लाखमा नयाँ शैक्षिक भवन निर्माण हुने

पोखरा विश्वविद्यालयको ४१ करोड ४३ लाखमा नयाँ शैक्षिक भवन निर्माण हुने


  • ढोरपाटन संवाददाता
  • साउन ३ २०८१, बिहिबार

पोखरा/ पोखरा विश्वविद्यालयले नयाँ शैक्षिक भवन निर्माणका लागि सम्झौता गरेको छ । पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालयको समुपस्थितिमा सम्पन्न उक्त सम्झौता पत्रमा विश्वविद्यालयको तर्फबाट रजिष्ट्रार प्राडा दिपकबहादुर भण्डारी र निर्माण व्यवसायीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष श्रेष्ठ एवम् सुपरभिजन परामर्शदाताको तर्फबाट प्रबन्ध निर्देशक ई. विष्णु प्रसाद खनालले बिहीबार हस्ताक्षर गरे ।

पोखरा–३०, खुदी, ढुङ्गेपाटनस्थित विश्वविद्यालय प्राज्ञिक भवन कम्प्लेक्सको हाताभित्र निर्माण गरिने नयाँ शैक्षिक भवनका अतिरिक्त स्कूल अफ हेल्थ एण्ड एलाइड साइन्सेज भवनका लागि ट्रस संरचना, स्कूल अफ बिजनेश भवनका लागि शौचालय निर्माण र पुरानो प्रशासनिक भवनको मर्मतसहितका सम्बद्ध कार्यहरूका लागि १७ वटा बोलपत्रमध्येबाट यस आजोनाका लागि छनौट भएको निर्माण व्यवसायी श्रेष्ठ एण्ड सन्स, चो रोल्पा जेभी, काठमाडौं र पोखरा विश्वविद्यालयबीच सम्झौता सम्पन्न भएको हो । आयोजनाको सुपरभिजन परामर्शदाताको रूपमा रहेको पेस कन्सल्टेन्ट, काठमाडौंले गर्नेछ ।

यही साउन १५ बाट निर्माण कार्य शुरू भई ३० (तीस) महिनाभित्र सम्पन्न हुने उक्त निर्माण कार्यको सम्झौता लागत रकम ४१ करोड ४३ लाख १७ हजार ५ सय ५९ रुपैयाँ छ । प्राज्ञिक भवन कम्प्लेक्सभित्र रहेको स्कूल अफ इन्जिनियरिङको पश्चिमपट्टि र स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल इन्जिनियरिङको दक्षिणपट्टि बाँस्केटबल कोर्ट भएको स्थानलाई समेत प्रयोग गरी निर्माण गरिने नयाँ शैक्षिक भवन अत्याधुनिक र सुविधा सम्पन्न हुनेछ । ७ तले भवनमा ४८ जना विद्यार्थी क्षमताका १४ वटा कोठा र ३० विद्यार्थी क्षमताका १२ वटा कोठा गरी २६ वटा कक्षा कोठाहरू हुनेछन् । भवनमा १२ वटा प्रशासनिक कोठाहरू, २४ वटा शिक्षक बस्ने कोठाहरू, ४ वटा विभागिय प्रमुखका कोठाहरू रहनेछन् ।

यसरी कुल ६६ वटा कोठाहरू डिजाइन गरिएको उक्त भवनमा छात्रा÷महिलाका २३ वटा बाथरूम÷ट्वाइलेट, छात्र÷पुरूषका लागि १८ वटा बाथरूम÷ट्वाइलेट, २४ वटा यूरिनल्स् र प्रत्येक तलामा स्टाफहरूका लागि एकएक वटा बाथरूम÷ट्वाइलेटहरू निर्माण गरिनेछ । यसका साथै भवनमा एक एकवटा प्राथमिक उपचार कक्ष, चौकीदार कक्ष, प्यान्ट्री कक्ष, बिजुली कोठा र ४ वटा भण्डार कोठाहरू रहनेछन् । त्यस्तै भवनलाई दुईवटा भ¥याङ र एउटा लिफ्टसहित ३०० जना क्षमताको एउटा अडिटोरियम हल र ४० जना क्षमताको एउटा मिनि हलले सुविधायुक्त तुल्याइनेछ । भवनको भुइतलामा १९ वटा कार, ५० वटा मोटरसाइकल तथा भवन परिसरमा ७० वटा मोटरसाइकल अट्नसक्ने गरी व्यवस्थित गरिनेछ ।

विश्वविद्यालयमा नयाँ नयाँ कार्यक्रमरू थपिने क्रममा रहेका र पठन–पाठनका लागि यथेष्ट कक्षा कोठाहरू आवश्यक हुँदै गएको सन्दर्भमा विश्वविद्यालयले विश्वविद्यालय अनुदान आयोग, विभिन्न दातृ निकायहरूको अनुदान सहयोग एवम् आफ्नै आन्तरिक श्रोत परिचालन गरी नयाँ अत्याधुनिक शैक्षिक भवन निर्माण गर्न लागेको हो । विश्वविद्यालयमा निर्माण हुन लागेको यो भवनले विश्वविद्यालयको शैक्षिक पूर्वाधारमा ठूलो फट्को मार्ने र पोखरा–२६ विजयपुरमा मासिक लाखौं खर्च गरी भाडामा सञ्चालन हुँदै आएको स्कूल अफ इन्जिनियरिङको ब्लक “बी” र पोखरा–३०, गगनगौंडामा मासिक हजारौं खर्च गरी सञ्चालित फिजियोथेरापी कार्यक्रमलाई नयाँ शैक्षिक भवनमा स्थानान्तरण गर्ने विश्वविद्यालयको लक्ष्य रहेको विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->