बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

निवृत्त जीवनमा बाख्रापालन गर्दै बागलुङ डोयका ज्ञानबहादुर

निवृत्त जीवनमा बाख्रापालन गर्दै बागलुङ डोयका ज्ञानबहादुर

बाख्रापालन गरेर जिसी दम्पत्तिले गाउँमै रमाउने योजना बनाएका हुन् ।


  • ढोरपाटन संवाददाता
  • साउन ४ २०८१, शुक्रबार

बागलुङ/दुइ दशक सेनामा जागिरे भएर फर्केपछि उनले बजार बस्ने रहर गरेनन् । बरु गाउँमा बसेरै कृषि कर्म गर्ने, गाउँघरको वातावरणमा रम्ने र सामाजिक सेवा पनि गर्ने योजना बनाए । बागलुङ नगरपालिका वडा नं. ९ तित्याङस्थित डोयका ज्ञानबहादुर जिसीले ५ वर्षदेखि गाउँमा बाख्रापालन गरेर बसेका छन् ।
२०७४ सालमा नेपाली सेनाबाट पेन्सन आएपछि उनले यो पेशा थालेका हुन् । पत्नि मिनाले परम्परागत रुपमा बाख्रापालन त गरेकै थिइन्, त्यसमा लगानी थप गरेर जिसी दम्पत्तिले गाउँमै रमाउने योजना बनाएका हुन् । बोयर र जमुनापारी बाख्रालाई एकै स्थानमा राखेर पाल्दा उनले राम्रो कमाइ गर्न सकेको बताए । अघिल्ला वर्षसम्म आधुनिक खोर अभावमा ३० मात्रै बाख्रा पालेका जिसीले अब भने एक सयसम्म पु¥याउने गरी खोर विस्तार गरेका छन् । माउ, बोका र पाठापाठी राख्ने छुट्टै कोठा बनाएर उनले व्यवस्थापन गरेका छन् ।
घरकै एकातर्फ घाँस भण्डारन गोठ बनाएका छन् । त्यहाँ घाँस काट्ने चपिङ मेसिन छ । यो मेसिन राखेपछि सबै घाँस खाने गरी मसिनो बनाउन सकिएको मीनाले बताइन् । घाँस राख्ने घरका लागि भेटेनरी तथा पशु विज्ञ केन्द्रले सहयोग गरेको छ । केन्द्रले जिसीको ‘आर्यन कृषि तथा पशु फर्म’लाई ५० प्रतिशत अनुदान स्वरुप १ लाख २५ हजार रुपैयाँ दिएपछि उनीहरुले २ लाख ५० हजार लागतमा घाँस भण्डारन गोठ बनाएका हुन् । ‘अहिले गोठभित्र मेसिन र घाँस राख्दा वर्षातमा ओभानो भएको छ,’ उनले भनिन्, ‘चिसो लागेर नखाने समस्या हट्यो ।’ वर्षातमा घाँस चिसो हुँदा बाख्राले नखाएर बिरामी पर्ने समस्या थियो ।
बाख्रा फर्ममा पुगेर केन्द्रले बेला बेला औषधी र प्राविधिक सहयोग पनि गरेको छ । जसका कारण उनको फर्ममा बाख्राहरु स्वस्थ्य बनेका छन् । लम्पी स्किन र अन्य रोगका कारण मर्ने समस्या खेपेका जिसी परिवारले अहिले भने बल्ल प्राविधिक साथ पाएर सबै बाख्रा बचाउन सकेको बताए । बाख्राको लागि बजार खोज्दैं हिंड्न नपरेकोले जिसी दम्पत्ति खुसी छन् । उनीहरुले ५ वर्षमा अहिलेसम्म बजार खोज्दै हिंड्न नपरेको बताए । ‘गतवर्ष २५ वटा खसी बेचेकोमा सबै घरबाटै बिक्री भए,’ मीनाले भनिन्, ‘आगामी वर्ष सम्ममा वर्षमा ५० बोका उत्पादन गरेर बेच्ने योजना छ ।’ एकवर्ष पालेका बोका २५ हजार रुपैयाँदेखि ३० हजार सम्ममा बिक्री हुने गरेका छन् । ती बोका बिक्रीबा टपनि जिसी परिवारले वर्षमा ७ लाखसम्म कमाइ भएको अनुभव छ । यो रकमले घरखर्च चलाउन सहज भएको उनले बताइन् । त्यस बाहेक लोकल कुखुरा, भैंसीसमेत पाल्दा दूध र छिटफुट पाहुना आउँदाको खर्च र आवश्यकता पुरा भएको उनीहरुले बताए ।
भेटेनरी अस्पतालका प्रमुख डा. ऋषिराम सापकोटाले किसानको मागको आधारमा खोर, प्रविधि लगायतमा अनुदान दिएको बताए । यसरी गरिएका सहयोगबारे बेला बेला अनुगमन गरेर सदुपयोग गर्न सुझाएको उनको भनाइ छ । युवा लक्षित सबैखाले सहयोग रकमलाई सदुपयोग गर्दा बजारमा बाहिरको खसीबोका आयात गर्न नपरेको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->