शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

बेनी–दरबाङ सडक एक सातादेखि अवरुद्ध : कृषि उत्पादन खेर

बेनी–दरबाङ सडक एक सातादेखि अवरुद्ध : कृषि उत्पादन खेर


  • ढोरपाटन संवाददाता
  • साउन ४ २०८१, शुक्रबार

म्याग्दी/गत बिहीबार रातीदेखि अवरुद्ध बेनी–दरबाङ सडकमाएक सातासम्म पनि सिधा यातायात सेवा संचालन हुन नसक्दा पश्चिम म्याग्दीका जनताले सास्ती भोग्न वाध्य भएका छन् ।
सदरमुकाम बेनीदेखि खाद्यपदार्थ तथा उपभोग्य साधनहरु गाउँतर्फ लैजान नसक्दा गाउँमा खाद्यान्नलगायत विकास निर्माणका लागि आवश्यक पर्ने निर्माण सामग्रीहरुको अभाव भएको छ । गाउँघरमा उत्पादित तरकारी,फलफूल तथा अन्य कृषि उत्पादनहरु विक्रीका लागि बजारसम्म ल्याउन नसक्दा खेतबारीमा नै खेर गएका कृषकहरुले बताएका छन् ।
लगातारको वर्षासँगै म्याग्दीको बेनी नगरपालिका ४ र मंगला गाउँपालिका २ को सीमानामा पर्ने फापरखेतमा गत बिहीबार राती खसेको पहिरोलेसडक अवरुद्ध भएको थियो ।
सडक डिभिजन कार्यालय र यातायात व्यवसायीले मेसिन र मानिस लगाएर पटक पटक पहिरो पन्छाउने प्रयास गरेपनि जति फाल्यो त्यति पहिरो खस्ने गरेकोले यो पहिरो पश्चिम म्याग्दीको लागि टाउको दुखाइ बनेको सिंगा तातोपानीका व्यवसायी कुमार केसीले बताए । पहिरोका कारण सिधा यातायात संचालन हुन नसकेपछि पश्चिम म्याग्दी जाने सयौं यात्रुहरु बेनीबाट तातोपानीसम्म गाडीमा र त्यहाँबाट पैदल हिडेर म्याग्दी नदीको झोलुंगे पुल तरेर सिमलचौर निस्केपछि अर्को गाडी चडेर गन्तव्यमा जाने गरेका छन् ।
पश्चिम म्याग्दीको ‘लाइफ लाइन’का रूपमा लिने गरिएको बेनी–दरबाङ सडकको फापरखेतमा सामान्य वर्षा हुँदा पनि सडक अवरुद्ध हुने हुँदा पश्चिम म्याग्दीका बासिन्दाले सास्ती खेप्दै आएका छन् ।
सडक डिभिजन कार्यालय र यातायात व्यवसायीको पहलमा डोजर लगाएर पहिरो पन्छाएपनि पन्छाइ नसक्दै पुनः पहिरो खस्न सुरु गर्ने भएकोले सो सडकमा एक सातादेखि यातायात सेवा अवरुद्ध भएको यातायात व्यवसायी टेकबहादुर राम्जालीले जानकारी दिए ।
१९ वर्षअघि सडकको मार्ग खोल्नुपूर्व नै यहाँ पहिराको जोखिम थियो । पहिरो रोकथामका लागि दीर्घकालीन योजना नहुँदा यस खण्डमा बर्खायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको स्थानीय बताउँछन् ।
धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजार जोड्ने उक्त सडक बर्खायाममा झनै जोखिमपूर्ण बन्दै गएको मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले बताए ।
‘बेनी–दरबाङ सडक पाखो र भिरको बीचमा खनिएको छ । सडकमुनि म्याग्दी नदी छ । सडकमाथिको भिरमा गेगरैगेगर छ । खोल्सामा पर्ने सडकमाथितर्फ पर्खाल बनाएर पहिरो रोक्ने प्रयास सफल भएको छैन,’अध्यक्ष रोकाले भने ‘म्याग्दी नदीको किनारमा बनाइएका पक्की पर्खालले कटान रोकिएको छ ।’उनका अनुसार सडकदेखि करिब दुई सयमाथि र एक सय ५० मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको छ ।
पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नतिको काम रोकिएको र यातायात अवरुद्ध हुन नदिन डोजर तैनाथ राखेर पहिरो खस्दाबित्तिकै पन्छाउने गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णु पौडेलले बताए । ‘फापरखेत, लाम्पाटा र बाङ्गेको पहिरो नियन्त्रणका लागि बायोइन्जिनियरिङसहितको छुट्टै काम गर्नुपर्छ,’ उनले भने ‘ठूलो पहिरो भएकाले लगानी पनि बढी आवश्यक पर्छ ।’
म्याग्दीको बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको फापरखेत अन्तर्गतको बेनी–दरबाङ्ग सडक खण्डको वैकल्पिक माग खोजिने म्याग्दीका प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले बताए ।
जति पन्छायो त्यति खस्छ फापरखेतको पहिरो
डेढदशकदेखि करोडौं खर्चिएर स्तरोन्नती तथा हरेक बर्खाको समयमा दर्जनौ पटक मर्मत गरिएपनि पश्चिम म्याग्दीको ‘लाइफलाइन’ मानिएको बेनी–दरबाङ सडकको फापरखेतको पहिरो झन झन भयानक बन्दै सधैँको टाउको दुखाइ बनेको छ ।
बेनी नगरपालिका–४ र मंगला गाउँपालिका–२ को सिमानामा पर्ने यो पहिरो झनै फराकिलो बन्दै जाँदा रोकथामका साथै बर्षा नहुदाँ समेत जोखिम बढेपछि आवतजावतमा समस्या भएको छ ।
पहिरोको विकल्पमा वैकल्पिक सडक र म्याग्दी नदीमा बेलिब्रिज निर्माणका लागि प्रारम्भिक अध्ययनमै सिमित भएपछि अहिले पश्चिम म्याग्दीका तीन स्थानीय तहबाट सदरमुकाम बेनीसम्म आउनजान पनि निकै समस्या हुने गरेको यात्रुको भनाई छ ।
‘यो पहिरोमा अब हिउँदको समयमा पनि यात्रा गर्न जोखिम हुन्छ,बैकल्पिक सडकमा सरोकारवालाले ध्यान नदिदाँ समस्या ज्युँकोत्युँ छ’ मंगला गाउँपालिका–१,कुहुँका दिपशिखा माविका प्रधानाध्यापक डा. नन्दबहादुर खत्रीले भने । उनले अहिलेको अवस्थामा प्रयोग भइरहेको बैकल्पिक सडकमा मोटरसाइकलबाट आवतजावत गर्न समेत निकै समस्या भएको बताउँदै तत्काल वैकल्पिक सडक र बेलिब्रिज निर्माणमा ढिलाइ गर्न नहुने बताए ।
तत्कालिन समयमा ड्रिलिप परियोजना, जिविस तथा हाल पूर्वाधार कार्यालय बजेट खन्याएर पनि माथिबाट खस्ने पहिरो नरोकिदाँ पश्चिम म्याग्दीबासीले बर्खाको समयमा जोखिम मोलेर यात्रा गर्नुपरेको छ । पहिरोस्थलमा निर्माण ब्यवसायीले अवरुद्ध हुदाँ वित्तिकै मर्मत, सुरक्षा निकाय लगायत प्रशासनबाट समेत पुगेर मर्मतसम्भारमा सक्रिय देखाएपनि बैकल्पिक मार्ग नहुदाँ ठूला सवारीसाधनमा आवतजावत गर्नेहरुले परिवर्तन गर्नुपर्छ ।
बर्खायाममा झनै जोखिमपूर्ण बन्दै गएको भन्दै बैकल्पिक मार्गमा ध्यान दिन सरोकारवाला निकायलाई अनुरोध गरिएको मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताए । ‘बर्खाको समयमा बैकल्किप मार्ग आवश्यक छ,पालिकाले धेरै पहल गरेको छ,अहिले मोटरसाइकललाई सहज हुने गरी बैकल्पिक बाटो मर्मतमा जुटेका छौ’अध्यक्ष रोकाले भने ।
मंगला गाउँपालिका वडा नं ३ पखेर लुलीयाघाट र वडा नं २ मा पर्ने सिमलचौर जोड्ने म्याग्दी नदीमाथी बेलिब्रिज तथा पखेरदेखि लुलीयाघाट र सिमलचौरको मूल सडक जोड्ने करिब एक किलोमिटर वैकल्पिक सडक निर्माणका लागि गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा, निर्वतमान भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली र प्रदेश क्षेत्र नं १ का सांसद हरि भण्डारी, पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख बिष्णुप्रसाद पौडेल सहितको टोलीले प्रस्तावित स्थानको अध्ययन समेत गरेका थिए ।
प्रस्तावित स्थानमा जग्गा पर्ने स्थानीयको असहमति तथा बजेटको सुनिश्चितता समेत नहुदाँ बैकल्पिक मार्गले गति लिन नसक्दा यो बर्खामा यात्रुलाई निकै सास्ती भएको छ । सडक विभागले फापरखेत–पखेर जोड्ने १०५ मिटर लामो मोटरेबल पुल निर्माण गरेको अवस्थामा सोह क्षेत्रबाट मार्ग ब्यवस्थित बनाउन सकेमा हिउँदमा समेत फापरखेतको पहिरो पन्छाउने झन्झट गर्नुपदैन ।
फापरखेतमा करिब २ सय मिटर सडक पहिरोग्रस्त छ। सडकदेखि साढे दुई सय माथि रहेको पहिरो यसपटक झनै फराकिलो बन्दै पुल आसपासको क्षेमाथि समेत खस्न थालेपछि पुल नजिकै रहेका घर समेत जोखिममा परेको छ ।
२४ किलोमिटर दूरीको बेनी–दरबाङ सडकमा नियमित यातायात सञ्चालन गर्न फापरखेत र बाङ्ग्रेपहिरो मुख्य चुनौति बनेको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख बिष्णुप्रसाद पौडेलले बताए । सडक पन्छाउने जिम्मेबारी पाएका निर्माण ब्यवसायी डम्बर सापकोटाले पहिरो पन्छाउँदा डोजर नै पुरिने जोखिम रहेकोबताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->