म्याग्दी/ म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वरधाममा ज्येष्ठ नागरिक सभाहल निर्माण गरिएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोष र ज्येष्ठ नागरिक आश्रमको संयुक्त लगानीमा सभाहल निर्माण गरिएको हो ।
ज्येष्ठ नागरिकलाई विश्रामस्थल, धार्मिक गतिविधि, भेला तथा भेटघाट र विभिन्न कार्यक्रम गर्ने गरी निर्मित सभाहलको शुक्रबार बेनी–९ का वडा अध्यक्ष चक्रबहादुर केसी र गलेश्वर क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले संयुक्त रुपमा उद्घाटन गरे ।
गलेश्वर शिवालय क्षेत्र विकास कोषको १५ लाख र ज्येष्ठ नागरिक आश्रमको तीन लाख ४९ हजार ६ सय ५० रुपैयाँ गरी कुल १८ लाख ४९ हजार ६ सय पचास रुपैयाँ लागतमा सभाहल निर्माण गरिएको हो । ज्येष्ठ नागरिक आश्रममा रहेको सामुदायिक स्वास्थ्य इकाईको भवन माथि तला थपेर निर्माण गरिएको फेब्रिक प्रविधिको सभाहलमा डेढ सय जना सहभागी हुन सक्ने क्षमता रहेको ज्येष्ठ नागरिक आश्रमका अध्यक्ष बमबहादुर पुनको भनाई छ । सभाहल निर्माण भएपछि खुल्ला चौरमा भेला हुनु्पर्ने ज्येष्ठ नगारिकको बाध्यता हटेको छ भने दिउँसोको समयमा टेलिभिजनबाट समेत प्रबचन सहितका कार्यहरुका लागि समेत सहज भएको छ । ज्येष्ठ नागरिक आश्रममा अहिले ४८ जना वृद्धवृद्धाहरुले आश्रय लिएका छन् ।

मोना कतारले ज्येष्ठ नागरिकलाई फर्निचर सहयोग
म्याग्दी प्रवासी नेपाली संघ मोना कतारले गलेश्वरधाममा बस्ने ज्येष्ठ नागरिकलाई फर्निचर सहयोग गरेको छ । गण्डकी प्रदेश समन्वय परिषद् कतारले प्रदेश मातहतका जिल्लालाई अति आवश्यक क्षेत्रमा सहयोग गर्ने उद्देश्यले उपलब्ध गराएको ५० हजार रुपैयाँबाट ज्येष्ठ नागरिकलाई लक्षित गरी निर्मित सभाहलमा सोफा सेट, २६ थान कुर्ची र कार्यक्रम सञ्चालनका लागि पोडियम हस्तान्तरण गरिएको छ । बेनी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष चक्रबहादुर केसीले ज्येष्ठ नागरिक आश्रमका अध्यक्ष बमबहादुर पुनलाई हस्तान्तरण गरेका थिए ।
कतारमा रहेका म्याग्देलीको साझा संस्था मोनाले ज्येष्ठ नागरिकलाई बसाईमा सहज तथा सभाहलमा आवश्यक फर्निचर खरिद गरी हस्तान्तरण गरेको मोना कतारका अध्यक्ष राजु पौडेलले बताए । सहयोग हस्तान्तरण कार्यक्रममा मोना कतार बहुद्देश्यीय अक्षय कोषका कार्यसमिति सदस्य बालकृष्ण खत्रीले मोना कतारमार्फत म्याग्दीमा भएका सहयोगका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा गलेश्वर क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मी, गलेश्वर पुलस्त्य पुलह अन्न क्षेत्रका अध्यक्ष ज्ञानेन्द्रप्रसाद सुबेदी लगायतले मन्तब्य राखेका थिए । गण्डकी प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष सागर पौडेलले म्याग्दी जिल्लाका बृद्धबृद्धालाई सहयोग गर्ने अवसर दिने मोना कतारलाई धन्यवाद दिए । उनले मोना कतारमार्फत म्याग्दीमा भविस्यमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाए । म्याग्दीमा मोना कतारले बर्षेनी विभिन्न कार्यक्रम गर्दै आएको छ ।





