बागलुङ/राष्ट्रिय सहकारी बैंकले देवकुमार नेपालीको सदरमुकामस्थित हल्लनचोकको घर लिलामी गर्न लागेपछि इमेज बचत तथा ऋण सहकारी संस्थाका पीडित बचतकर्ताहरु आन्दोलनमा उत्रेका छन् ।
शनिबार बिरोध कार्यक्रम गर्दै बैंकको प्रक्रिया रोक्नुपर्ने, पीडितले नै रकम संकलन गरेर घर सकार्ने वा सकार्नेवालाले पीडितको बचत फिर्ता गर्नुपर्ने लगायतका शर्त राखेका छन् ।
उनीहरुले लिलामीमै गैहालेपनि आन्दोलनमार्फत पीडितलाई राहत दिलाउने बताएका छन् ।
सहकारीका अध्यक्ष देव कुमार नेपाली फरार भएपछि ८ करोड ऋणमा रहेको हल्लनचोकको रहको कर्मा कम्प्लेक्स लिलामीमा परेको हो । हाल यो घरको १३ करोड २५ लाखमा घर किन्ने व्यक्ति आएपछि पीडित बचतकर्ता सडकमा उत्रेका हुन् । शनिबार उनीहरुले बैंकको प्रक्रिया रोकेर पीडितले लिने वातावरण बनाउन पहल गर्ने बताएका छन् ।
उनीहरुले मालपोत, प्रशासन र सरोकारवाला निकायमा लिलामी प्रक्रिया रोक्न दबाव दिन थालेका छन् । गत असार मसान्तमा सदरमुकामको घर बिक्री गर्ने तयारी भएपछि काठमाण्डौं र तनहुँमा बस्नेले घर किन्न आएका हुन् । पोखराको जग्गा र बागलुङको घर किन्न दुइ पटकको सूचनामा एक÷एक जना मात्रैको निवेदन परेकोले बैंकले उनीहरुलाई नै लिलाम गर्न लागेको थियो ।
घर किन्नका लागि आएका ग्राहकलाई पनि उनीहरुले फर्काउने प्रयास गरेको समितिका संयोजक डिलबहादुर कार्कीले बताए । बचतकर्ताले पनि अदालतको आदेश आएपनि आन्दोलन नरोक्ने चेतावनी दिएका छन् ।
‘आन्दोलनमार्फत भएपनि बचतकर्ताको रकम फिर्ता गराउनैपर्छ’ कार्कीले भने, ‘हामी जुनसुकै आन्दोलन गर्न तयार छौं ।’ घर किन्नेले रकम पीडितको खातामा पठाइदिनुपर्ने शर्त उनीहरुले राखेका छन् । एक वर्षदेखि पीडितले विभिन्न चरणका आन्दोलन गरिरहेका छन् ।






