बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

कांग्रेस पदाधिकारीबिहिन बीपी स्मृति दिवश !

कांग्रेस पदाधिकारीबिहिन बीपी स्मृति दिवश !

कांग्रेस नेताहरु केन्द्रीय नेताको चाकरीमा लाग्दा जिल्ला आउनै नभ्याएको देखियो ।


  • ढोरपाटन संवाददाता
  • साउन ६ २०८१, आइतबार

बागलुङ/कांग्रेस संस्थापक नेता बीपी कोइरालाको बारेमा कार्यकर्ताहरु जति भाषण गरेर पनि थाक्दैनन् । आँफूले काम नगरेपनि बीपीको व्याज खाएर कांग्रेस कार्यकर्ताहरु धानिएका छन् । तर, बीपी कोइरालाकै स्मृति दिवशमा भने पदाधिकारी समेत उपस्थित भएनन् । कुनैबेला जिल्लादेखि केन्द्रीय नेता सहभागि भएर वृक्षारोपण गर्ने, बीपीबारे अनतरक्रिया गर्ने, विचार विमर्श गर्ने गरेका कांग्रेस नेताहरु यो पटक भने केन्द्रीय नेताको चाकरीमा लाग्दा जिल्लामा आउनै नभ्याएको देखियो ।
आइतबार ४२ औं बीपी स्मृति दिवश आयोजना थियो । जिल्ला कार्यसमिति आयोजक भएको व्यानरमा बोलाइएको कायर्यक्रममा कांग्रेसका पदाधिकारी कोही देखिएनन् । बिहान साँढे ७ बजे बागलुङ नगरपालिका वडा नं. १ को रामरेखास्थित बीपी बाटिकामा बोलाइएको कार्यक्रममा वडा तहका कार्यकर्ता, पूर्व जनप्रतिनिधि पुग्दा कांग्रेसको पदाधिकारीमा रहेका ७ जनामध्ये कोही थिएनन् । आठ बजेर १५ मीनेटसम्म कोही पदाधिकारी आउलान् की भनेर कुरेका कार्यकर्ता फर्कने अवस्था भएपछि जिल्ला कार्यसमितिमा मनोनित भएका सदस्यहरुले कार्यक्रम संचालन गरेर फर्केका छन् । जिल्ला सदस्य महेन्द्र आचार्यको अध्यक्षता, सदस्य टिकाराम थापाको संचालन र प्रदेश समितिकी सदस्य पार्वती आचार्यले स्वागत गरेकी थिइन् ।
केन्द्रीय नेता आएको बेला सयौंको संख्यामा उपस्थित हुने काँग्रेस कार्यकर्ता आइतबार भने २५ जना हाराहारी मात्रै उपस्थित थिए । कोही आउने अवस्था नदेखेपछि पार्टीका पूर्व सभापतिहरु प्रकाश शर्मा पौडेल र हरिप्रसाद श्रेष्ठले धारणा राखेर कार्यक्रम समापन भयो । उपस्थित कार्यकर्ताले बीपी बाटिकामा रहेका बिरुवा गोडेर फर्केका थिए । कार्यक्रममा बोल्दे पौडेलले संविधान संशोधन मात्र समस्याको समाधान नभएको भन्दै जनजीविकाको पक्षमा काम गर्नुपर्ने बताए । उनले बीपीले देखाएको बाटो हिंडेकाहरुले बाटो बिराइरहेको टिप्पणी गरे । साथै, पदमा बस्नेले पार्टीलाई जीवन्त बनाउन सक्नुपर्ने नत्र पदमा बस्नुको औचित्य नभएको बताए । ‘काम त धेरै होला, तर बीपी स्मृति दिवश कांग्रेस कार्यकर्ताको पहिलो रोजाइ हुनुपर्छ’ पौडेलले भने, ‘राजनीतिमा मुल सिद्दान्तबाट बिचलित भइयो भने औचित्य सकिन्छ ।’
अर्का वक्ता श्रेष्ठले २०३९ सालमा बीपीको अस्तु सेलाउँदा पनि जनसागर उर्लेको बताए । उनले अहिले कार्यकर्तामा आएको निरासाको पछाडि नेतृत्व जिम्मेवार बन्नुपर्ने टिप्पणी गरे । कार्यक्रम सकिनै लाग्दा सहसचिव ज्ञानु श्रीष पुगिन् । त्यतिबेलासम्म अध्यक्षले कार्यक्रम समापन गरिसकेका थिए । कार्यक्रम स्थलमा पुगेकी एकमात्र पदाधिकारीले आसन ग्रहण गर्न पनि भ्याइनन् । कांग्रेस सभापति जीत शेरचनले काम विशेषले सबैजना काठमाण्डौं आएकोले उपस्थित हुन नसकेको बताए । उनले प्रतिनिधिको रुपमा सहसचिव ज्ञानु श्रीषलाई पठाएको बताए । सहसचिव ज्ञानु श्रीषले भने राती १० बजे मात्रै सभापतिले फोनमार्फत जानकारी दिएकोले सदरमुकाम आइपुग्न नभ्याएको बताइन् । श्रीष काठेखोला गाउँपालिका वडा नं. ५ देखि कार्यक्रम स्थल आइपुग्दा ९ बजेको थियो । त्यतिबेलासम्म कार्यक्रम समापन भैसकेको थियो । पदाधिकारीले भने नवगठित सरकारका मन्त्रीसँग सेल्फी खिचेका तस्बिर सामाजिक संजालमा पोष्ट गरिरहेका छन् ।
जिल्लाको कार्यक्रम खल्लो भएपनि पालिका स्तरीय र विद्यार्थी लगायतका भातृ संगठनले भने विभिन्न कार्यक्रम गरेर बीपी स्मृति दिवश मनाएका छन् । नेपाल विद्यार्थी संघ धौलागिरि बहुमुखी क्याम्पस इकाई र बागलुङ नगर इकाइले बीपीको योगदानबारे प्रवचन र अन्तरक्रिया कार्यक्रम गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->