बागलुङ/आज साउनको पहिलो सोमबार । बागलुङका शिवालयमा बिहानैदेखि भक्तालुको भीड लागेको छ । शिवभक्तले साउने सोमबारलाई पवित्र दिनका रुपमा लिने गर्छन् ।
साउन भगवान् शिवजीसँग जोडिएको महिना हो । यसवर्ष चार सोमबार परेका छन् । साउनमा शिवको व्रत र पूजाआजा गरे फल प्राप्त हुने धार्मिक विश्वास छ । विशेष गरी महिलाले यसलाई बढी महत्व दिन्छन् ।
ज्योतिषशास्त्र अनुसार सोमबारको स्वामी भगवान् शिव भएकाले यो महिनामा गरिने शिवको व्रत पूजा फलदायी हुन्छ । यस दिन आफू र आफ्नो परिवारको भलो चिताएर व्रत बस्ने गरिन्छ । सोमबारे व्रत बसेर पार्वतीले महादेव स्वामी पाएको धार्मिक ग्रन्थमा उल्लेख छ ।
बागलुङ नगरपालिका वडा नं. ४ उपल्लाचौरस्थित गौरीधाम शिव मन्दिरमा बिहानदेखि भक्तजनको चहलपहल सुरु भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । भक्तजनको सहजता र सुविधाका लागि आवश्यक सबै प्रबन्ध मिलाईएको छ । २०५८ मा निर्मित मन्दिरमा बर्सेनि शिवरात्री र साउने सोमबारमा विशेष पूजाआजा हुने गर्छ ।
यस्तै, बागलुङ नगरपालिका वडा नं. ९ तित्याङस्थित शिवालय मन्दिरमा पनि बिहानैदेखि भक्तजनको चहलपहल बढेको छ । बागलुङ बजार र आसपासका गाउँबाट भक्तालु शिवको पूजाआराधना गर्न शिवालयमा पुग्ने गर्छन् ।
काठखोला गाउँपालिका वडा नं. ५ रामकोटधाममा रहेको त्रिपुरेश्वर महादेव मन्दिर र गलकोट नगरपालिका वडा नं. ७ मल्मस्थित सिद्वेश्वर शिवालय मन्दिरमा पनि साउने सोमबारमा विशेष पूजाआजा हुने गर्छ ।








