म्याग्दी/ म्याग्दीमा आर्थिक वर्ष २०८०/०८१ मा सवारी कारबाहीबाट साढे ६८ लाख रुपैयाँ बढी राजश्व संकलन भएको छ । एक वर्षको अवधिमा ९ हजार एक सय ५० ठुला तथा साना सवारी कारबाहीबाट ६८ लाख ८८ हजार रुपैयाँ राजश्व संकलन भएको ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख राजकुमार केसीले बताए ।
ट्राफिक नियम उल्लघंन गर्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, बढी भाडा लिने, रातो प्लेटका सवारी साधनमा मान्छे बोक्ने, तोकिएको मापदण्डभन्दा बढी भार बहन गर्ने ट्रक÷टिपर, बस, कार जिप, ट्याक्टर, मोटरसाईकल लगायतका सवारीलाई कारवाही गरिएको प्रमुख केसीको भनाई छ । ट्राफिक कार्यालयको तथ्याङ्कमा ट्रक÷टिप ७ सय, बस ४ सय २९, कार÷जिप ५१ सय २१, ट्याक्टर ९ सय १३, मोटरसाइकल १९ सय ८३ र अन्य ४ वटा सवारी साधन कारबाहीमा परेका थिए । ‘विगतको तुलनामा राजश्व संकलन बृद्धि आएको छ, सचेतनामुलक अभिायान सञ्चालन गर्दा पनि उल्लंघन गर्ने घटेका छैनन’ प्रमुख केसीले भने । उनले ट्राफिक नियम उल्लंघन गर्ने सवारीलाई एकहजारदेखि पाँच हजारसम्म जरिवाना शुल्क लिने गरिएको बताए ।
कारवाहीमा सबैभन्दा बढी कार/जिप कारबाहीबाट ३८ लाख ६४ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ । जिल्लाभित्र भएको २२ वटा साना तथा ठुला सवारीसाधन सवारी दुर्घटनामा १० जनाको मृत्यु १७ जना गम्भीर घाइते र १३ जना सामान्य घाइते भएका छन् । बर्षभरी सवारी उल्लंघन चाडपर्व तथा विदाको समयमा धेरै हुने गरेको तथ्याङ्कले देखाउँछ । जसमा साउन महिनामा चार लाख तीस हजार, भदौमा चार लाख ४६ हजार, असोजमा ६ लाख ३५ हजार, कात्तिकमा ९ लाख ३९ हजार रहेको छ । आव २०७९/०८०मा ट्राफिक प्रहरीले ९ हजार दुईसय सवारी साधनलाई कारवाही गरी ७३ लाख २७ हजार ५ सय र आर्थिक बर्ष २०७८/०७९ मा ९ हजार ४५० सवारी कारबाहीबाट ६३ लाख ९१ हजार पाँचसय रुपैयाँ राजश्व संकलन भएको थियो । पछिल्लो समय सवारीको बढ्दो चापसंगै ट्राफिक नियम उल्लंघन गर्ने संख्या पनि बढी रहेको ट्राफिक प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । जिल्लामा ट्राफिक जनशक्ती ब्यवस्थापन भएपछि मुख्य रोडहरुमा नियमित अनुगमन तथा चेकजाँच हुने गरेको छ । ट्राफिक प्रहरी कार्यालय म्याग्दीले ९ सय ५५ वटा जनचेतनामुलक कार्यक्रमहरु संचालन गरी ६५ हजार ७ जना लाभाम्वित भएपनि उल्लंघनका घटनामा कमी आउन सकेन ।





