
म्याग्दी/ म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा साउनको पहिलो सोमबार बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ। गलेश्वर मन्दिरमा दर्शनका लागि बिहानदेखि नै दर्शनार्थीहरुको भिड लागेको हो । साउन महिनाको सोमबार भगवान् शिवको पूजाआराधाना गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ । गाउँघरमा रोपाइको चटारो भएको र बाढीपहिरोका कारण सडक अवरुद्ध हुदाँ समेत भक्तजनहरु बिहानै मन्दिरमा दर्शन गर्न आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए ।
‘एक महिनाम एक लाखभन्दा बढी भक्तजन आउँछन्, देशभरबाट आउने भक्तजनलाई निशुल्क भोजनको सुविधा पनि छ’ अध्यक्ष रेग्मीले भने । बिहानैदेखि भक्तजनको आगमन बढेको र व्यवस्थित तवरले पूजा र दर्शन गर्ने प्रबन्ध मिलाइएको उनले बताए । मन्दिरमा गलेश्वर आमा समुह, सामुदायिक प्रहरी सेवा केन्द्र, न्यू वेष्ट पोइन्ट आवासीय मावि, नेपाल प्रहरी सहित विभिन्न संघसंस्थाले स्वयंमसेवकको भूमिका निर्वाह गरेका छन् । पूजापाठ र मन्दिरमा दर्शन गर्न भक्तजनलाई व्यवस्थापन गर्न विभिन्न २३ वटा उपसमिति गठन गरिएको छ ।
हरियो चुरा, हरियो तथा पहेलो वस्त्रमा सजिएका विवाहीत महिला पारिवारिक सुख र अविवाहीत राम्रो बर पाइयोस् भन्ने कामनासहित साउनको सोमबार शिवालयमा पुगेर पूजा गरी व्रत बस्ने चलन रहेको छ । मन्दिरमा पूजाआजा गर्न आएका बागलुङका शिव शर्माले भक्तजनले प्रवेशद्धारदेखि मुल मन्दिरसम्म राम्रो सुविधा रहेको बताए ।
गलेश्वर शिवालयको दर्शन तथा पूजापाठका साथै १०८ शिवलिङ्मा कालीगण्डकी नदीको जल अर्पण गरेमा पारिवारिक सुख, शान्ति र ऐश्वर्य प्राप्ति हुने धार्मिक विश्वास रहेको छ । हिन्दू धर्मग्रन्थमा सतीदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको छ । मन्दिरमा धौलागिरी अञ्चलका चार जिल्लाहरु म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वतका साथै देशका विभिन्न जिल्लाबाट दर्शनका लागि भक्तजन पुगेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सचिव बलबहादुर खत्रीले बताए । पवित्र कालीगण्डकी नदीबाट उठेर ९ रोपनी क्षेत्रफलको एउटै चक्रशिलामा अवस्थित मन्दिर सत्ययुगमा सतीदेवीको गलापतन भएर गलेश्वर नाम रहन गएको विभिन्न धार्मिक ग्रन्थ तथा पुराणहरुमा उल्लेख गरिएको पाइन्छ । प्रसिद्ध मुक्तिनाथ मन्दिरको प्रवेशद्वारका रुपमा रहेको गलेश्वर मन्दिर पछिल्लो समय धार्मिक पर्यटनको केन्द्रविन्दु हुन थालेको छ । गलेश्वरमा नेपालको विभिन्न जिल्लाका साथै भारतसहित तेस्रो मुलुकबाट पनि भक्तजनहरु मन्दिर दर्शन गर्न आउने गरेका छन् । मन्दिरभित्र शिव लगायतका भगवान्हरुको मूर्तिहरु छन ।





