शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

गलेश्वरमा साउन पहिलो सोमबार ३ लाख ७२ हजार भेटी संकलन

गलेश्वरमा साउन पहिलो सोमबार ३ लाख ७२ हजार भेटी संकलन


  • हरिकृष्ण गौतम
  • साउन ८ २०८१, मंगलबार

म्याग्दी/ म्याग्दीको बेनी नगरपालिका– ९ स्थित गलेश्वर शिवालय मन्दिरमा दोस्रो सोमबारमा भक्तजनबाट चढाइएको भेटी सार्वजनिक गरिएको छ । मंगलबार बिहान सरोकारावाला निकायको उपस्थितिमा गलेश्वर मन्दिर परिसरमा भेटी गनेर सार्वजनिक गरिएको हो । सोमबार साँझसम्म भक्तजनले मन्दिरमा चढाएको ३ लाख ७२ हजार ३७३ रुपैयाँ संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय प्रमुख रामबहादुर बानियाँले बताए

मन्दिरमा संकलन भएको भेटी मुचुल्का गरेर प्रहरीकै सुरक्षामा भेटी र कोषमा राखिएको चावी प्रहरी चौकीबाट मन्दिर परिसरमा ल्याएर कोषका पदाधिकारी, कर्मचारी गलेश्वर आमा समूह, प्रहरी र स्थानीयबासीको उपस्थितिमा गनेर सार्वजनिक गरिएको कोषका सदस्य सचिव बलबहादुर खत्रीले बताए । ‘संकलित भेटी कोषको खातामा जम्मा गरिएको छ, ठूला पर्वमा भोलीपल्टै र नियमित महिनाको २ पटक गन्ने गरिन्छ’ सदस्य सचिव खत्रीले भने ।

दान संकलन गर्ने क्रममा छिटफुट भेटी भेटिएमा हरेक महिनाको १५ दिनमा सार्वजनिक गरिन्छ। यसपटक पहिलो सोमबार अनुकल मौषमका कारण भक्तजनको भिड लागेको थियो । गलेश्वरधाममा भगवान् शिव महादेवको स्वयं उत्पत्ति ज्योर्तिलिङ्गको पूजाअर्चना गर्न म्याग्दीसहित पर्वत, बागलुङ, कास्की, तनहुँ, चितवनलगायत जिल्लाहरुबाट ठूलो संख्यामा श्रद्धालु भक्तजनहरु आएका थिए । मुक्तिनाथ मन्दिरको प्रवेशद्वारको रुपमा रहेको म्याग्दीको गलेश्वर शिवालयमा कालिगण्डकी नदीबाट जल स्नान गर्ने व्यवस्था मिलाइएको छ । गलेश्वरको दर्शन गर्न आउने भक्तजनलाई लक्षित गरेर कालीगण्डकी नदीको गंगाजलले नुहाउने व्यवस्था मिलाइएको हुँदा भक्तजनको संख्यामा वृद्धि भएको अनुमान गरिएको छ।

कृष्णागण्डकीवाट उठेर ९ रोपनी चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिरभित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको क्षेत्रमा प्रवेश गरेमात्रै पनि मनोकामना पुरा हुने जनविश्वासले मुक्तिनाथ मन्दिरमा जाने भक्तजनले समेत दर्शन गर्ने गरेका छन् । ज्योतिर्लिङ्ग, शालिग्राम, जलकूण्ड, शंखचक्रहरु, नागमणी आदि चक्राकार रूपी चिन्ह मानवनिर्मित नभई स्वंयम उत्पन्न भएको धार्मिक पुस्तकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->