म्याग्दी/ प्राकृतिक चिकित्सालयको रुपमा ख्याती कमाएको म्याग्दीको बेनी नगरपालिका–४, तातोपानी कुण्डमा ‘सन्ध्याकालीन आरती’ शुभारम्भ गरिएको छ । साउन महिनाको पहिलो सोमबार म्याग्दीका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले उद्घाटन गदैं भक्तजनहरूमा आध्यात्मिक शान्ति र आनन्द महसुससँगै धार्मिक आस्थाको समेत संरक्षण हुने बताए ।
बेनी नगरपालिकाका मेयर सुरत केसीले तातोपानी कुण्ड क्षेत्रको विकासका नगरपालिकाले प्राथमिकताका साथ सहयोग गरेको बताउँदै कमीकमजोरी सुधार सहितको योजनामा जोड दिए । कार्यक्रममा वडा अध्यक्ष अणबहादुर खड्का, एनआरएनए न्यूजिरल्याण्डका अध्यक्ष लालबहादुर केसी, विश्व हिन्दु महासंघ सहित विभिन्न धार्मिक संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिती थियो । तातोपानी कुण्डमा स्नान गर्न आउने बिरामी तथा आन्तरिक पर्यटकलाई लक्षित गरी अब प्रत्येक हप्ताको सोमबार ‘सन्ध्याकालीन आरती’ हुने तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले बताए ।
उनले तातोपानी कुण्ड क्षेत्र धार्मिक दृष्टिकोणले समेत महत्वपूर्ण रहेको बताए । प्राकृतिक उपचारका लागि आउने बिरामीको उपचारसँगै आरतीले तातोपानीको गौरव थपेको अध्यक्ष खड्काको भनाई छ । तातोपानीमा आरतीमा श्रवण तथा महादीप सहित धार्मिक कार्यमा समेत प्रत्यक्ष सहभागि हुन पाइने कुण्डका सचिव कुमार केसीको भनाई छ । प्रत्येक सोमबार साँझ करिब २ घण्टा आरतीसँगै भजनमा सहभागी हुन पाईनेछ । भगवान शिवकोको पुजा आरधना गदैं १ सय ८ दीप प्रज्ज्वलन, महाआरतीसहितको विशेष पूजा गर्ने सुविधाले स्नान गर्न आउने बिरामी उत्साहित भएका छन ्। आरतीका लागि ३ जना कन्या सहित ६ जनालाई आरती बाचक रमेश खड्काले प्रशिक्षण दिएका थिए । हिन्दु धर्ममा आरती पूजाअर्चनाको एउटा विधि हो । बलिरहेका आरतीका थाली आराध्यसमक्ष एक विशेष विधिले घुमाउने गरिन्छ ।
म्याग्दी नदीको किनारमा प्राकृतिक रुपमा निस्कने ४५ डिग्री सेल्सियस तातोपानी संकलन गरिएको तलाउमा स्नान गरेर उपचार र अवलोकनका लागि बर्षेनी २० हजारको हाराहारीमा आउने गरेका छन् । पानीमा डुबुल्की मार्नेको छाला, ग्यास्ट्रिक, वाथ, चोटपटक लागेको लगायत निको हुने जनविश्वास छ । म्याग्दीको सदरमुकाम बेनीबजारदेखि ९ किलोमिटर पश्चिममा तातोपानी कुण्ड रहेको छ ।





