बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

विपत पीडित छैनन् राज्यको पहुँचमा

विपत पीडित छैनन् राज्यको पहुँचमा

विपत जोखिम न्युनिकरणका लािग निजी आवास पुननिर्माण तथा पुनस्थापना अनुदान कार्यविधि २०७७ बनेपनि बागलुङमा भने खासै उपयोगमा आएको देखिंदैन ।


  • ढोरपाटन संवाददाता
  • साउन ९ २०८१, बुधबार

बागलुङ/विपतजन्य घटनाबाट गत आर्थिक वर्ष बागलुङका ५ जनाले ज्यान गुमाएका छन् । सोही अवधिमा ४ जना घाइते भए । पशुचौपायातर्फ १ सय ३९ मरे, २७ घाइते भए । १ सय ६ घर र ६९ गोठ भत्केर नष्ट भए ।
आर्थिक वर्ष २०७९÷८० मा २ जनाको मात्र बाढी पहिरोले मृत्यु भएको थियो । ३ जना घाइते थिए । पशुचौपाया पनि २२ मात्रै मरेका थिए । घरहरु भने ३६ वटा भत्केका थिए । १९ गोठ भत्केको प्रहरीको तथ्यांक छ । २०७८÷७९ मा ६ जनाको मृत्यु, ५ घाइते भएको प्रहरी नायव उपरीक्षक बिजय यादवले जानकारी दिए । त्यस्तै ६१ पशुचौपाया मरेका थिए । ३० घर र २६ गोठमा क्षति पुगेको थियो ।
ती पीडितको घरमा भएका घटनाकै समयमा जनप्रतिनिधि, प्रशासक वा अन्य निकायले जे जस्तो सहयोग ग¥यो, त्यसपछि पुनस्थापनाका काम भएका छैनन् । वर्षेनी विपतका घटना बढीरहेका छन् । न पुनस्थापनामा ध्यान छ, न त पूर्व तयारीमा चासो छ । त्यसो त २०७७÷७८ को भदौमा बागलुङको ढोरपाटनमा बाढी पहिरोले ठूलो क्षति पुगेपछि सरकारले तत्कालै मन्त्रीपरिषद बैठकमार्फत बागलुङलाई विपत जोखिम क्षेत्र घोषणा गरेको थियो । उक्त घोषणा सरकारको कागजमै सिमित भएको छ । विपतको प्राथमिकतामा हुने गरी कार्यक्रमहरु संचालन भएनन् । पूर्व तयारी नहुँदा त्यसपछिका क्षति भएका छन् । यद्यपी मानवीय क्षति कम भएपनि वर्षेनी बाढी पहिरोले खेतबारी बगाउने, घर भत्कने जस्ता घटना बढी छन् ।
नेपाल रेडक्रससहित केही गैरसरकारी संस्थाले ग्रामीण क्षेत्रमा पुगेर विपतबारे सचेतना फैलाए । तर सरकारी निकायले कार्यक्रम ल्याएन । विपतको बैठक बसेर पीडितलाई राहत दिने काम गरेपनि जोखिम न्युनिकरणबारे सचेतना नदिइएको हो ।
प्रहरीको तथ्यांक अनुसार ०७७÷७८ मा बागलुङमा मनसुनजन्य बिपतबाट ५७ जनाले ज्यान गुमाएका थिए । ती मध्ये ढोरपाटनका मात्रै ३७ जना थिए । त्यहाँका १५ अझै बेपत्ता छन् । उक्त घटना ताजा छउन्जेल राज्यका हरेक निकायले चासो राखे, तर पुनस्थापनाको समयमा चासो कम भएको छ । विपतमा परेकाहरुले घर पुननिर्माण गरेर बसेका भन्दा छाडेर हिंडेकाहरु धेरै छन् । जैमिनी नगरपालिका १ को टुनीबोटमा त सामान्य बिपतबाट तर्सेर धेरै मानिस बसाइ सरेर तराइ झरी सकेका छन् । ढोरपाटनकाहरु गोठमा बसेर गुजारा गरिरहेका छन् ।
विपत जोखिम न्युनिकरणका लािग निजी आवास पुननिर्माण तथा पुनस्थापना अनुदान कार्यविधि २०७७ बनेपनि बागलुङमा भने खासै उपयोगमा आएको देखिंदैन । कार्यविधिको दफा ४ को उपदफा ३ बमोजिम प्रक्रिया पुगेका घर पुननिर्माणमा राज्यले सहयोग गर्ने उल्लेख छ । तर ढोरपाटनकै कैयौं पीडितले पहिलो र दोश्रो किस्तापछि तेस्रो किस्ता बजेट लगेनन् । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालका अनुसार तत्कालिन ९४ पीडित घरपरिवारमध्ये १८ घरले मात्रै दोश्रो किस्ता रकम लगेका छन् । उनीहरु पनि तेस्रो किस्ताका लािग आएका छैनन् भने बाँकी ७६ घरले पहिलो किस्ता पनि नलगेका हुन् ।
पीडितहरु लामो प्रकृयाको सिकार भएको ढोरपाटन नगरपालिकाका जनप्रतिनिधिहरु बताउँछन् । ‘पीडितहरु जान्छन्, कागज मिलेन भनिन्छ, त्यसै फर्केर आउँछन्, खर्च मात्रै हुन्छ’ ढोरपाटन नगरपालिका ८ का अध्यक्ष भद्रमणी बिकले भने, ‘जनताले के गरेर राहत पाउने भन्ने थाहै पाएका छैनन् ।’ प्रकृया मिलाउनेहरु पीडित नभएपनि पाउने र वास्तविक पीडितहरु कागज बनाउनै नसक्ने भएको उनले गुनासो गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->