बागलङ/श्रीरङ्गवेङ्कटेश मुक्तिनारायण मन्दिर शालग्राम क्षेत्र कुँडुलेफेदीले दिवंगत स्वामी त्रिदण्डी यतिराज जियर श्रीधराचार्यको जन्मोत्सव त्रिदिवसिय कार्यक्रमका साथ मनाउन शुरु गरेको छ ।
मन्दिरका स्थापनाकार तथा संस्थापक स्वामी श्रीधराचार्यको ८५ औ जन्मदिनलाई अवतारोत्सवका रुपमा विविध त्रिदिवसिय कार्यक्रमका साथ मनाउन शुरु गरिएको हो ।
कार्यक्रमको पहिलो दिन मंगलबार श्रीमद्भागवत गिता भाष्यादि ग्रन्थको पाठ पारायण सहित ४८ घण्टे अखण्ड हरिकृतनको शूरुआत गरिएको मन्दिरका उत्तराधिकारी तथा श्रीधराचार्य शालग्राम संग्राहलयका परिकल्पनाकार स्वामी ऋषि प्रपन्नाचार्यले जानकारी दिए । अखण्ड हरिकृतनको शुभारम्भ प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदी र स्वामी ऋषि प्रपन्नाचार्यले गरेका थिए ।
यस्तै, बुधबार निशुल्क आँखा शिविरको आयोजना गरिएको छ । कार्यक्रमको अन्तिम दिन बिहिबार जगत गुरु यतिराज माईघर झापाका कमलनयनाचार्य आश्रम माईघर झापाका पिठाधिश श्री १००८ स्वामी केशवाचार्यलाई अभिनन्दन गर्ने कार्यक्रम रहेको मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष हरिप्रसाद उपाध्यायले जानकारी दिए । मन्दिर पसिरमा थप धार्मिक संरचना थपिदै गएपछि शालग्राम संग्रहालय तथा मन्दिर दर्शन गर्न आउने पर्यटक तथा भक्तजनको संख्या बढ्दै गएको छ ।





