बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

धानबालीमा फेद कुहिन समस्याले किसान चिन्तित

धानबालीमा फेद कुहिन समस्याले किसान चिन्तित

स्थानीय जातका धानबाली, एक्ले, गुडुरा, खुमलटार र गौरीयामा समस्या बढि


  • ढोरपाटन संवाददाता
  • साउन १० २०८१, बिहिबार

बागलुङ/धान रोपेको एक महिना भएको छैन् । समयमै वर्षा भएकाले यो वर्ष यहाँका किसानले समयमै धान रोपे । धान हरियो भएर गाँज लाग्ने बेला फेद कुहिन थालेको छ । फेद कुहिने र गाँज मर्ने समस्या देखा परेपछि किसान चिन्तित छन् ।

बागलुङ नगरपालिकको पैयुँपाटा, अमलाचौर, नारायणस्थान, सिम, कालीमाटीका खेतमा रोपेको धान दुई साता नपुग्दै मर्न थालेको हो । धानको फेद र डाँठ कुहिएर पहेँलो हुँदै मर्न थालेको किसान लाल प्रसाद शर्माले बताए । ‘धान गोड्ने समय हुदै थियो, ढुसीजन्य रोग फैलिएर धानको फेद कुहिने र पात मर्ने समस्या देखिन थालेको छ’ शर्माले भने ।

हिउँदभरि खानपुग्ने अन्न उब्जाउन दुःख गरेर रोपेको धानका गावा खाली हुँदै गएका छन् । अनुकूल मौसम परेकाले समयमै धान रोप्न पाएपछि किसान हर्षित बनेका थिए । उत्पादन बढ्नेमा ढुक्क किसान एकाएक रोगको प्रकोप देखिन थालेपछि अहिले निराश बनेका छन् ।

‘यसवर्ष समयमै वर्षात् हुँदा रोपाइँ सकेर उम्किएका थियौं, बागलुङ नगरपालिका १३ पैयुँपाटाका किसान मुक्तिराम शर्माले भने, ‘अहिले धान उत्पादन पनि बढ्ने भो भनेर निकै आशावादी थियौं । रोपेको दुई साता नपुग्दै फेद कुहिने समस्याले सबै धान मर्न थालेपछि सोचेजस्तो धान उत्पादन हुने भएन ।’

रोग नियन्त्रणको उपाय खोजी भईरहेको उनको भनाई छ । उनले अधिकाशंको पानीमा राखिएको विउमा यो समस्या देखिएको बताए । शर्माको झण्डै ५ रोपनी खेतमा यो समस्या देखिएको छ ।

धानमा समस्या देखिएपछि नगरपालिकाले कृषि प्राविधिक सहितको टोली अनुसन्धानका लागि पठाएको छ । नगरपालिकाले तत्काल ढुसीजन्य रोग नियन्त्रणका लागि केही विषादी किसानलाई उपलब्ध गराएको बागलुङ नगरपालिकाका १३ का वडा अध्यक्ष एवं आर्थिक विकास समितिका संयोजक नारायण शर्मा पौडेलले जानकारी दिए । पौडेलका अनुसार, नगरपालिका र कृषि ज्ञान केन्द्रका प्राविधिकको स्थलगत अनुगमन पश्चात रोग नियन्त्रणका लागि गर्न सकिने प्रयासको थालनी गरिएको छ ।

नगरभित्र झण्डै २ सय रोपनी क्षेत्रफलको खेतमा यो समस्या देखिएको नगरपालिका कृषि शाखा प्रमुख सुवास सापकोटा बताउँछन् । उनले यसको रोकथामका लागि किसानलाई बेबिस्टिन नामक विषादी उपलब्ध गराईएको र खेतमा विषादी राख्ने काम भएको बताए ।

‘धानको फेद कुहिने समस्या नगरक्षेत्रका विभिन्न वडामा देखिएको छ’ सापकोटाले भने, ‘विशेषगरी स्थानीय जातका धानबाली, एक्ले, गुडुरा, खुमलटार र गौरीया लगायतका धानमा यो समस्या बढि देखिएको छ ।’ उनले रोग नियन्त्रणका लागि किसानलाई खेतमा पानी सुकाएर औषधी प्रयोग गर्ने र एक सातामा एक दिनमात्र पानी लगाई अन्य दिन सुख्खा राखेमा समस्याको समाधान हुने सापकोटाले बताए ।

समयमा रोकथाम हुन नसकेमा प्रकोपग्रस्त क्षेत्रको धान उत्पादनमा झण्डै ५० प्रतिशतको बिचमा गिरावट आउनसक्ने उनको भनाई छ । ‘रोगको प्रकोप समयमै नियन्त्रणमा लिन सके उत्पादनमा ठूलो गिरावट नआउला’ उनले भने ।

ढुसीजन्य रोगको प्रकोप पानीको माध्यमबाट सर्ने गर्दछ । विगत वर्षदेखिनै बागलुङका विभिन्न क्षेत्रमा यस प्रकारका समस्या देखा परिरहेको छ । धानबालीको फेद कुहिएको देख्ने बित्तिकै त्यसलाई उखेलेर नष्ट गर्ने गरेमा यो रोग अन्य विरुवामा नसर्ने प्राविधिकहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->