बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

पोखरा–३३ शिवबस्तीमा महायज्ञ हुने

पोखरा–३३ शिवबस्तीमा महायज्ञ हुने


  • ढोरपाटन संवाददाता
  • साउन १० २०८१, बिहिबार

पोखरा/ पोखरा महानगरपालिका वडा नं ३३ शिवबस्तीस्थित शुक्लेश्वर धाम प्राङ्गणमा यही साउन १४ गतेदेखि २४ गतेसम्म श्रीमद्भागवत महापुराण, सप्ताह ज्ञान महायज्ञ, शिव महापुराण, बृहत धार्मिक श्रावण मेला एवम् बोलबम महोत्सव हुने भएको छ ।

मन्दिरको सर्वाङ्गिण, भौतिक पूर्वाधार विकास निर्माण सहयोगार्थ महायज्ञ गर्न लागिएको शुक्लेश्वरधाम क्षेत्र विकास संस्था, शिववस्तीका अध्यक्ष पदमराज पौडेलले विहीबार आयोजित पत्रकार सम्मेलनमा बताए । कथा शिरोमणि पण्डित दीपकप्रसाद पौडेलको प्रमुख बाचकत्वमा हुने महायज्ञमा विभिन्न देवलिला, जनचेतनामूलक नाटक सहित संगीतमय कथा प्रवचन हुने उनले जानकारी दिए । महायज्ञका क्रममा श्रीमद्भागवत सतचण्डी, बेदपाठ, रुद्राभिषेक, सहस्र जलधारा, बेलपत्र अर्पण, ग्रहशान्ति पूजा, चौरासी पूजा, अन्नदान, भूमिदान, ब्राह्मण भोजन सहित पितृको फोटो राखी पितृ तर्पण तुलादान, विवाह, ब्रतबन्ध, गुन्युुचोली सहित आरती अर्पण गर्दै धार्मिक सम्बन्धी सम्पूर्ण कार्य सञ्चालन गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

महायज्ञलाई भव्य र सभ्य बनाउन पदमराज पौडेलको संयोजकत्वमा १५१ सदस्यीय मूल समारोह समिति एवम् ३१ सदस्यीय सल्लाहकार समिति तथा १० वटा उपसमिति गठन गरिएको प्रचारप्रसार उपसमितिका संयोजक दिनेश आचार्यले जनाए । उनका अनुसार अन्य उपसमितिका संयोजकहरू मध्ये अर्थ संकलनमा खगेश्वर आचार्य, प्रचारप्रसारमा दिनेश आचार्य, मञ्च व्यवस्थापनमा तिलबहादुर विक, कलश यात्रामा चन्द्रकुमारी आचार्य चापागाइँ, प्रसाद व्यवस्थापन र अतिथि सत्कारमा सम्पूर्ण आमा समूह, यातायातमा जीवन पौडेल, सरसफाई तथा खानेपानीमा मथुरा भण्डारी, स्वयम् सेवक परिचालनमा कुुष्माखर भण्डारी, प्राथमिक उपचारमा प्रकाश पौडेल रहेका छन ।

स्थानीयका अनुसार ऐतिहासिक महत्व र गरिमा बोकेको शुक्लेश्वर धामस्थित शिव मन्दिर २०१४ सालमा स्थापना भएको हो । मन्दिर बनेकै वर्ष बाढीका कारण भत्किएपछि हाल रहेको मन्दिर २०१५ सालमा स्थापना गरिएको हो । सामाजिक एवम् बौद्धिक व्यक्तित्व साविक भोटेपोखरी ९ (हाल पोखरा ३३ सिस्ने) का स्व.टीकारम पौडेलले मन्दिर स्थापना गरेका थिए । तत्कालिन समयमा नै मन्दिरको दैनिक पूजाआजा सञ्चालनका लागि स्व.होमनाथ पाध्यालाई जिम्मा दिएको र हालसम्म उनकै परिवारबाट पूजाआजा हुँदै आएको छ । उक्त कार्यका लागि गुठी समेत राखिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो । स्व.टीकारम पौडेलले यसै स्थानमा रहेको सरस्वती मा.वि.लाई २० लाख ६८ हजार रुपैयाँ दान दिएर उनकै नामबाट सरस्वती टीका मा.वि. र सरस्वती टीका बहुुमुखी क्याम्पस सञ्चालन हुँदै आएको छ । महायज्ञको शुुभकामना व्यक्त गर्दै पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारीले वडा भित्रका सम्पूर्ण संघ संस्था तथा सामाजिक व्यक्तित्वलाई महायज्ञ सफल बनाउन साथ र सहयोगका लागि आग्रह गरे । समितिका अध्यक्ष पदमराज पौडेलको सभापतित्व एवम् सचिव खगेश्वर आचार्यले सञ्चालन गरेको कार्यक्रममा समाजसेवी एवम् राजनीतिक व्यक्तित्वहरू पिताम्बर पौडेल, तिलकप्रसाद अधिकारी, श्रीभद्र बराल लगायतले शुुभकामना तथा सुुझाव व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->