फाइल तस्बिर
बागलुङ/केही वर्ष अघिसम्म वर्षात्मा कालीमारे खोलाले हरेक वर्ष मान्छे बगाउँथ्यो । पैदलयात्री र मेलापात गरेर फेर्केकाहरु वर्षापछि एक्कासी उर्लिने खोलाको शिकार हुन्थे । कालीमारेको मुहान स्थायी छैन् तर भलबाढीले केही न केही विध्वंश मच्याउँथ्यो । बागलुङ नगरपालिका–१२ अमलाचौरको टाकुरी भएर बग्ने कालीमारे केही वर्षयता शान्त छ ।
जैमिनी नगरपालिका वडा नं. ७ र ८ को सिमानामा पर्ने चौरीखोला पनि खहरे हो । वर्षात्मा बैंश निकाल्ने चौरीखोला आजभोली पानी पर्दैमा उन्मत्त हुँदैन् । कालीमारे र चौरीखोलाले आजभोली स्रोत गुमाएका छन् । केहि वर्ष अघिसम्म वर्षा यामको भेलबाढी थेग्ने खहरेहरु शान्त हुँदा भेलबाढीले बाटो बदलेको छ । बस्ती र खेतीपातीमा पसेको भलबाढीले नयाँ बाटोको खोजी गर्दा धनजनको क्षति हुने गरेको छ ।
चार वर्षअघि बागलुङको ढोरपाटन नगरपालिका ९ भुजीखोलामा ठुलो बाढी आयो । ३७ जना बगायो । १५ अझै बेपत्ता छन् । घरबास उठायो । कयौं घरबारबिहिन भए, आफन्त गुमाए । अव्यवस्थित सडक संरचनाका कारण वर्षापछि जम्मा हुने माटो बगाउँदा उक्त बिपत्ति निम्तिएको बाढी पछिको अनुसन्धान गरेका विज्ञहरु बताउँछन् ।
सोही वर्ष गलकोटको नरेठाँटीमा घरघरमै बाढी बस्यो । बडीगाडको ग्वालीचौरमा बजार छेउकै खहरे शान्त थियो तर अर्कै बाटोबाट घरघरमा बाढी पस्यो । हुग्दीखोलाले बरेङ गाउँपालिकाका विभिन्न वडामा बाढी र पहिरोले विध्वंश मच्चायो ।
चार वर्षयता बागलुङ नगरपालिका ३ बोक्से, बागलुङ नगरपालिकाकै दव्ल्याङ र रायडाँडाको पहिरो परम्परागत बाटो छोडेको पानीले ल्याएका बिपत्तिका घटना हुन् । जुन पहिरोका कारण वर्षेनी सर्वसाधारणले दुःख पाउने गरेका छन् । ‘हिजो बर्खा लाग्नुअघि बाढीको निकास खोज्ने चलन थियो, बस्ती र खेतीयोग्य जमिनमा पस्ने भल खहरेमा मिसाइन्थ्यो, गाउँहरुले आँफै भल तर्काउँथे’ बागलुङ नगरपालिकाका इञ्जिनियर त्रिलोचन गिरी भन्छन्, ‘अहिले भल तर्काउने कसैको जाँगर छैन्, टोल टोलमा पुगेका सडकको सहायताले भलबाढीले बाटो समात्दा क्षति थेगिनसक्नु छ ।’ पानीले परम्परागत बाटो छोड्दा विपत्का घटना बढेको उनको बुझाई छ । परम्परागत बाटोबाटै पानीको निकास दिने हो भने बाढी, पहिरोका कारण निम्तिएका अधिकांश घटनामा न्युनिकरण हुने उनले बताए ।
पानीको निकास नहुनु र जमिन माथीको अत्याचारपूर्ण व्यवहार बाढी पहिरोको कारण भएको बताउँछन् भु तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका प्रमुख दिवाकरण पौडेल । ‘जबरजस्ती डोजर लगाउने प्रचलनले जमिन कमजोर भएको छ, आधुनिकताका नाममा हामीले बनाएका संरचनामा पानी र जमिनलाई माया गर्न जानेनौं’ पौडेल भन्छन्, ‘मनपरि डुल्ने बाढी नियन्त्रण गर्नै कठिन हुने गरेको छ ।’ हरेक वर्ष बाढी पहिरोकै नियन्त्रणमा काम गर्नुपरेको उनले बताए । पानीले वर्षौं अघिदेखि बनाईरहेको बाटोमा बग्दा हुने क्षति र नयाँ बाटोमा पानी बग्दा हुने क्षतिमा आकाश जमिनको फरक हुने इञ्जिनियर गिरी बताउँछन् ।





