बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

जिल्ला अदालतमा शुरु भयो ‘अटोमेसन’ प्रणाली

जिल्ला अदालतमा शुरु भयो ‘अटोमेसन’ प्रणाली

चिनेजानेको कानून व्यवसायी र पहुँचवालाले आफ्नो पेशी अनुकुलतामा राख्ने गरेकोमा अटोमेसन प्रणालीले समान व्यवहार हुने ।


  • ढोरपाटन संवाददाता
  • साउन ११ २०८१, शुक्रबार

बागलुङ/सर्वोच्च अदालतले शुरु गरेको एक वर्षपछि जिल्ला अदालतमा पनि स्वचालित पेशी (अटोमेसन पद्दती) शुरु भएको छ । १ साउनदेखि लागू भएपनि अबका केही दिनपछि मात्र यो जिल्ला अदालतमा प्रयोगमा आउने छ ।
असार मसान्तमा काम बन्द भएपछि साउनको पहिलो र दोश्रो साता अदालतमा मुद्दाको चाप नहुने भएकोले केही दिनपछि अटोमेसन प्रयोगमा आउने भएको हो । यसअघि अदालतमा मुद्दा दर्ता भएपछि कर्मचारीले तारेख, पेशी लगायतका सबै क्रियाकलापमा समय तोक्ने गरेका थिए । यो पद्दतीले हरेक दिन कति मुद्दा हेर्ने, ती मुद्दा कुन इजलासमा राख्ने र कुन समयमा रहने समेत अटोमेसनले तोक्ने छ ।
बागलुङ जिल्ला अदालतमा एकमात्र इजलास भएकोले यहाँ मुद्दा दिनभरमा कतिबेला हेर्ने भन्ने मात्र हुनेछ भने दुई वा दुईभन्दा बढी इजलास भएको अदालतमा कुन मुद्दा कुन इजलासमा रहने, एक दिनमा कुन कुन मुद्दा वर्णानुक्रम वा अन्य क्रम अनुसार रहने भन्ने उक्त पद्दतीले फैसला गर्नेछ ।
२०८० साल भदौ १ गतेदेखि सर्वोच्चमा अटोमेसन पद्दती शुरु भएको थियो । प्रधानन्यायाधिसको चाहना अनुसार मुख्य रजिष्ट्रारले मुद्दा कसको इजलासमा पार्ने र कसरी आफ्नो पक्षमा पार्ने भन्दै कानून व्यवसायीले पनि लबिङ गर्दा ठूला र राष्ट्रिय महत्व राख्ने मुद्दामा भिआइपीहरुको समेत चासो बढ्ने गरेको थियो । गत एक वर्षमा त्यो पद्दतीले भिआइपीको चासो कम भएको छ । त्यस्तै गत पुस ८ गतेदेखि सबै उच्च अदालतमा पनि अटोमेसन पद्दती लागू भैसकेको थियो ।
अब भने सबै जिल्ला अदालतमा यो पद्दती भित्रिएको हो । अब कसैको पनि हस्तक्षेप नहुने गरी अटोमेसन पद्दती लागू भएको जिल्ला अदालतका स्रेस्तेदार शिवहरी सुवेदीले बताए । यो निर्णयपछि पेशी मिति फेरिने समस्या पनि हट्नेछ । ‘अब सबैलाई मुद्दामा एकरुपता र भेदवाभ हट्नेछ’ सुवेदीले भने, ‘गल्ती कमजोरी सच्चिने र विकृति पनि अन्त्य हुनेछ ।’ चिनेजानेको कानून व्यवसायी र पहुँचवालाले आफ्नो पेशी अनुकुलतामा राख्ने गरेकोमा यो पद्दतीले समान व्यवहार हुने भएको हो ।
जिल्ला अदालत नियमाबली र राजपत्रमा पनि अटोमेसन पद्दती राख्नुपर्ने गरी कानू्न संशोधन भैसकेको हो । अटोमेसन पद्दती लागू भएपनि बाल इजलास र १८ महिना काटेका मुद्दाको हकमा भने प्राथमिकता दिएर काम गर्नुपर्ने भएकोले अगाडि पेशी चढाउने काम हुनेछ । अदालतले अबदेखि हरेक दिन १० वटा मुद्दा दैनिक पेशीमा राख्ने छ । ती मध्ये कुनै कारणबस पेशी हटेको खण्डमा अर्को थप हुने छैन । जिल्ला अदालतमा अत्याधिक मुद्दा हुने भएकोले भीड लाग्ने गर्छ । यो पद्दतीले आवस्यक नपर्ने मुद्दाका पक्ष आउन नपर्ने र पालो मिलाएर आउन पाउने व्यवस्था हुनेछ ।
जिल्ला अदालत बागलुङको तथ्यांक अनुसार गत आर्थिक वर्ष ९ सय १८ मुद्दा रहेकोमा ६ सय ४८ वटा फछ्र्यौट भएर २ सय ७० मुद्दा चालु वर्षलाई सरेका छन् । गत वर्ष पनि अघिल्लो वर्षका २ सय १३ मुद्दा सरेर आएकोमा ७ सय ५ मुद्दा थपिएका थिए । अब दायित्व सरेका मुद्दालाई हरेक दिन १० वटाको दरले पेशीमा चढाइन्छ भने नयाँ दर्ता भएका मुद्दा पनि प्राथमिकताको आधारमा पेशीमा राख्दा भनसुन र भिआइपीको चाहनामा चल्न पाउने छैनन् ।
यो पद्दतीले सेवाग्राहीलाई फाइदा पुग्ने उच्च अदालत बार एशोसिएसन बागलुङका अध्यक्ष रमेशबहादुर खड्काले बताए । अदालते पेशी तोकेपछि पक्षको मोबाइलमा पेशीको दिन र समयबारे एसएमएसबाट सूचना दिने व्यवस्था पनि हुनेछ । यो पद्दतीले सेवाग्राहीले दिनभरी आएर बस्ने, केही दिनदेखि सदरमुकाममै बस्नुपर्ने बाध्यता हट्ने लगायतको फाइदा हुने समेत खड्काले बताए । अदालतबाट प्रवाह हुने सेवामा पनि सुधार हुने क्रम बढेको बताइएको छ । अदालतमा स्तनपान कक्ष राख्ने, साक्षी वकपत्र गर्दा कानून व्यवसायी र वारेसको बरियता अनुसारको स्थान दिने लगायतको काम पनि सहज रुपमा संचालन गरिने सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->