
बागलुङ/मालढुंगादेखि बागलुङ नगरपालिका वडा नं. ९ को आशा पुर्णेश्वर महादेव मन्दिरसम्म कलश यात्रा हुने भएको छ । साउनको दोश्रो शनिबारको अवसरमा साउन १४ गते कलश यात्रा गर्न लागिएको हो ।
हरेक सोमबार विशेष पुजा र भक्तजनको भीड लाग्ने यो मन्दिरमा जाने भक्तजनको आग्रह अनुसार कलस यात्रा गर्न लागिएको हो । मन्दिरमा जम्मा भएका भक्तजनहरु सामुहिक रुपमा कालीगण्डकी नदीमा पुगेर कलस यात्रा गर्दै आउने तयारी भएको र त्यसका लागि मन्दिर परिसरमा सरसफाइ गरिनुको साथै भक्तजनको बसाइ, पिउने पानी, पूजा व्यवस्थापन लगायतको काम भैरहेको छ ।
१९९० सालमा निर्मित आशापूर्णेश्वर महादेव मन्दिर जिल्लाकै पुरानो मन्दिर भएकोले त्यसको मौलिकपन झल्काउन र प्रचार गर्न कलश यात्रा आयोजना गरिएको आयोजक चण्डीप्रसाद शर्माले बताए । मन्दिर व्यवस्थापन, भक्तजन र स्थानीयको सहकार्यमा आयोजना गर्न लागिएको कलश यात्राले तित्याङको पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्ने स्थानीयले बताए । भक्तजनको हितलाई ध्यानमा राखेर नेपाल रेडक्रस सोसाइटीले उक्त स्थानमा स्वास्थ्य परीक्षण शिविर पनि संचालन गर्ने छ ।
हाल यो मन्दिर परिसरलाई मर्मत गरिएको छ । अग्लो पुलदेखि सिंढी पनि बनाइएको छ । यहाँ १ सय ८ वरपिपल रोपिएको छ । पछिल्लो तीनचार वर्षदेखि रोपिएका वरपिपलले मन्दिर परिसरमा आर्कषण बढाएको छ । साथै मन्दिरबाटै हिंड्ने बाटो बन्द गरेर छुट्टै पदमार्ग बनाइएको छ । भक्तजनले १ सय ८ पिपल घुम्ने व्यवस्थापन पनि मिलाइएको शर्माले जानकारी दिए ।





