बागलुङ बजारको ट्राफिक चोकस्थित आन्दोलनले सुनसान ट्याक्सी व्यवसायीको पार्किङस्थल । तस्बिर : ढोरपाटन
बागलुङ/आइतबार बागलुङ लगायत गण्डकी प्रदेशभर सार्वजनिक यातायात ठप्प भएको छ । राइड शेयरिङको विरोधमा उत्रिएका यातायात व्यवसायीले गण्डकी प्रदेश सरकारले माग सम्बोधन नगरेको भन्दै आइतबार बिहानैदेखि सार्वजनिक यातायात ठप्प पारेका हुन् ।
गण्डकी प्रदेशको राजधानी पोखरा लगायत ११ जिल्लाका सदरमुकाममा सार्वजनिक सवारी नचल्दा सडक सुनसान छन् । निजी सवारी मात्रै चलेका छन् । सार्वजनिक यातायात चढ्ने यात्रुले मर्कामा परेको गुनासो गरेका छन् ।
शनिबार विज्ञप्ती जारी गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीले सार्वजनिक सवारी घर र ग्यारेजमा राखेर आन्दोलनमा सरिक हुन व्यवसायी र मजदुरलाई आह्वान गरेको थियो । ‘उक्त कार्यले आम नागरिक तथा यात्रुवर्गमा पर्न जाने असुविधाप्रति हामी क्षमा प्रार्थी छौं’, अध्यक्ष केदार पौडेलद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
दुई पांग्रे र चार पांग्रे सवारीलाई राइड शेयरिङ सञ्चालन गर्न नदिन यातायात व्यवसायीले गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयमा बिहीबार ७ बुँदे ज्ञापनपत्र बुझाएका थिए । दुई पांग्रे र चार पांग्रे निजी सवारीसाधनलाई यात्रु ओसारपोसार गर्न दिने कार्ययोजना तत्काल खारेज गर्नुपर्ने व्यवसायीको पहिलो माग हो । महासंघको निर्णयलाई यातायात व्यवसायसँग सम्बन्धित बिभिन्न कम्पनीहरुले साथ दिएका छन् ।





