बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पर्यटकका लागि गल्ली नम्बरसंगै नाम

पर्यटकका लागि गल्ली नम्बरसंगै नाम

हाल १ सय ५० वटा गल्लीको नामसहित नम्बर राख्ने योजना, प्रारम्भिक खाका तयार भैसकेपनि नाममा केही विवाद बाँकी


  • ढोरपाटन संवाददाता
  • साउन १३ २०८१, आइतबार

बागलुङ/बागलुङ नगर पर्यटन विकास समितिले वडा नं. १ देखि ४ सम्म गल्लीको नाम र नम्बर राख्न थालेको छ । पर्यटकहरु आएर अलमलमा पर्ने समस्या हटाउन गल्लीको नाम सहितको नम्बर राख्न लागिएको हो । रुद्रे पिपल आउने सडकबाट शुरु हुने गल्ली नम्बर चार वटै वडामा राखिने भएको हो ।
नगरपालिकाले गत आर्थिक वर्षकै योजनामा यो कार्यक्रम राखेपनि अध्ययनका लागि लामो समय लागेको थियो । प्राविधिक सहितको टोलीले सबै वडामा पुगेर स्टिमेट, आवस्यक गल्ली संख्या सबै उतारेपछि अहिले काम शुरु भएको हो । हाल गल्ली देखाउने गरी पोल गाडीसकिएको छ । हरेक गल्लीको नम्बरको प्रारम्भिक खाका तयार भैसकेपनि नाममा केही विवाद बाँकी छ ।
टोल सुधार समितिको सल्लाहमा नाम राख्ने गरी केही खण्डमा छलफल चलिरहेको नगर पर्यटन विकास समितिका अध्यक्ष तथा नगर उपप्रमुख राजु खड्काले बताए । ‘बाहिरबाट आउने पर्यटकलाई आर्कषण दिएर कसरी बागलुङमा रमाउने बनाउने भन्ने नै हाम्रो उद्देश्य छ’ खड्काले भने, ‘बागलुङ कालीका मन्दिरमा आएका भक्तजन र पर्यटक बजारमा आउने बनाउन सक्नुपर्छ ।’ बजारमा आएका पर्यटक नजिकका अन्य स्थानमा पनि घुम्ने गरी बजारलाई व्यवस्थित बनाइने उनले बताए ।
हाल १ सय ५० वटा गल्लीको नामसहित नम्बर राख्ने योजना छ । नगरपालिकाले १ सय पोल गाडिसकेको समितिका सदस्य सचिव ससबहादुर पुनले बताए । ‘हामीले अनुगमन पनि गरिसकेका छौं, केही काम बाँकी छ’ उनले भने, ‘एकादुइ स्थानमा नामबारे सहमति जुटिसकेको छैन ।’ सहमतिमा गल्लीको नाम राखिने उनले बताए ।
समितिले नगर पर्यटनको लोगो, नारा र पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्ने कार्यक्रम गरिरहेको छ । विद्यालय तहमा पुगेर पर्यटन विद्यार्थी क्लब पनि गठन गरेको छ । नगरभित्रका ११ वटा प्रमुख गन्तव्यलाई क्युआर कोडमा पनि राखिएको छ । मोबाइलबाटै ती स्थानको बारेमा अध्ययन गर्न सकिने व्यवस्थापन भएको हो ।
सबै क्षेत्रको प्रचार गरेर नगरभित्र हजारौं पर्यटक भित्राउने लक्ष्यमा गल्ली नम्बर पनि महत्वपूर्ण भएको खड्काले बताए । आएका पर्यटकले गल्ली नम्बरकै सहायताले रोजेको होटलमा पुग्ने अवस्था बनाउन पहल गरिएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->