बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बजारमा ‘फलेबास’को रुख कटहर

बजारमा ‘फलेबास’को रुख कटहर

बलेवा, कुश्मीसेरासहित जैमिनीका विभिन्न स्थानमा कटहर बढी फल्छ ।


  • ढोरपाटन संवाददाता
  • साउन १४ २०८१, सोमबार

बागलुङ/यतिबेला बजारमा रुख कटहर धेरै देखिन्छ । साउन महिनामा कहटर खाने पुरानो चलन पनि हो । उपभोक्ताले कटहर खुबै मन पराउने गर्छन् । सिजनको फल खानुपर्छ भन्ने आम उपभोक्तामा बुझाइ छ । तर, ती कटहर कताबाट आउँछन् ? त्यो आम नागरिकको चासोको बिषय बनेको छ ।
बागलुङ बजारमा आएको कटहर यतिबेला पर्वतको फलेबासबाट आएको छ । जिल्लाको कटहर पनि बजारमा आउने क्रममा छ । बलेवा, कुश्मीसेरासहित जैमिनीका विभिन्न स्थानमा कटहर बढी फल्छ । पर्वतको फलेवासमा त कटहरको खानी नै छ भन्छन् किसानहरु । ‘किसानहरुले एउटै बोटबाट १० हजार रुपैयाँसम्म हात पारेका छन्’ फलेवास नगरपालिका वडा नं. ६ का ठाकुर रानाले भने, ‘व्यवसायिक उत्पादनमा जोड दिने हो भने फलेवास रुख कटहरको हब नै हुनेछ ।’ यहाँका नन्दीकिशोर शर्मा र भीम प्रसाद रेग्मीले एउटै बोटमा १० हजारसम्म कमाएको बताए । रेग्मीको घरमा ३ वटा रुख छन् भने शर्माको घरमा २ वटा छन् ।
हरेक रुखमा न्युनतम २ सय कटहर फलेका छन् । किसानले प्रतिगोटा ५० रुपैयाँसम्म मूल्य पार्दा मनग्ये कमाइ हुने गरेको हो । कटहरका लागि वर्षभरी मेहेनत गर्नु पर्दैन । खरबारीको छेउमा वा असर नपर्ने स्थानमा रोपिएको हुन्छ । त्यसैले कटहरबाट शुद्द कमाइ गर्न सकिने रेग्मीले बताए ।
कटहर उत्पादनबारे बागलुङमा दशकअघि राखिएको तथ्यांक मात्रै छ । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी कुमार पुनले तत्कालिन कृषि विकास कार्यालयको तथ्यांकमा ६५ हेक्टरमा कटहर खेती भएको देखाइएको छ । ‘हालसालको तथ्यांक छैन, खोजी पनि भएको छैन’ पुनले भने, ‘व्यावसायिक खेतीको रुपमा विकास गर्ने हो भने यो राम्रो हुनेछ ।’ बाँदर आतंकले कटहर खेतीलाई असर नपर्ने उनले बताए ।
बजारमा अत्याधिक माग भएकोले किसानको घरघरबाट कटहर उठाएर ल्याएको बागलुङ बजारका व्यवसायी खगेन्द्र पौडेलले बताए । ‘मौषम अनुसारका फलफूल धेरैको रोजाइमा पर्छन्, त्यसैले फलेवास पुगेर दुई गाडी कटहर ल्याएर बजारमा बेचेको छु,’ पौडेलले भने, ‘तरकारी र फलफूल पसलेहरुले सहजै बिक्री गरेका छन् ।’
कटहरमा पनि परम्परागत र केही आधुनिक जात छन् । तर, कृषि प्राविधिकको सिफारिस बिना उन्नत जातको कटहर लगाउन मिल्दैन । ‘मैले पनि १५ वटा बोट लगाएको थिएँ, राम्रो फलेको थियो, तर एकाएक म¥यो’ रानाले भने, ‘धेरै दाना लागेपनि पाक्ने बेलासम्म रहेनन् ।’ झर्ने समस्याले नयाँ कटहरले फाइदा लिन नसकेको उनले बताए । सानो बोटमा फल्ने भएपनि त्यसको उत्पादनबारे कृषि प्राविधिकको सल्लाह चाहिने उनको सुझाव छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->