म्याग्दी/हिमाली जिल्ला मुस्ताङको प्रवेशद्धार मानिने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानाको मतीचौर बराहमा मुस्ताङको मुक्तिनाथ मन्दिरको झल्को दिने गरी निर्माण गरिएको १०८ धारासहितको संरचना घुम्ने पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । समुद्री सतहदेखि दुई हजार २ सय मिटर उचाइमा रहेको मतीचौरमा धार्मिक तथा पदमार्गमा दृश्यावलोकन गर्दै प्रकृतिसँग रमाउने पर्यटकका लागि नयाँ र सुन्दर गन्तब्य बनेपनि प्रचार–प्रसारको अभावका कारण ओझेलमा परेको छ ।
अनकन्टार जंगलको बिचमा सिद्घबराहको मन्दिरमा भारतको राजस्थानबाट ढुङ्गा र गाईमुखीबाट निर्मित बाह्ै महिना नसुक्ने १०८ वटा धारामा स्नान गरेमा मनोकामना पूरा हुने विश्वास गरिन्छ । मन्दिरमा असार र साउन महिना बाहेक प्रत्येक वर्ष जनैपूर्णिमाका अवसरमा विशेष पूजाआजा सहित दानाबाट संसारभरी छरिएका र अन्य विभिन्न स्थानमा बसोबास गर्नेै भक्तजनहरु दर्शनका लागि पुग्ने गरेका छन् । मतीचौरमा सन्तान नभएकालाई सन्तानको वर प्राप्त हुने विश्वासका साथ बर्षेनी भक्तजनहरु जाने गरेपनि यहाँको धार्मिक तथा पर्यटकीय महत्वका बारेमा प्रचारप्रसार हुन नसकेको दानाका वडा अध्यक्ष रमेश पूर्जाले बताए ।
‘यहाँ पुगेर फर्किने कोही पनि निराश हुदैनन्, धार्मिक र ग्रामिण क्षेत्रमा रमाउने पर्यटकहरुलाई लोभ्याउने प्रसस्तै सम्भावना छ,’ वडा अध्यक्ष पूर्जाले भने । २०७९ साल जेठ महिनामा वडा अध्यक्ष पूर्जा र समाजसेवी कृष्ण तुलाचले उद्घाटन गरेको मतीचौर क्षेत्रलाई स्वदेशी तथा विदेशी पर्यटकका लागि आर्कषक गन्तब्य बनाउन स्थानीयले सक्रियता देखाएका छन् ।
मतीचौरमा स्नान गर्नका लागि महिला र पुरुषलाई कपडा फेर्ने कक्ष फरक छ भने शौचालय सहित रातको समयमा बस्न मिल्ने संरचनाहरु समेत तयार गरिएको छ । हाल युके निवासी चन्दादाता एवम् समाजसेवी कृष्ण तुलाचनले सडक सञ्जाल आसपासका पर्यटकीयस्थलमा रमाइरहेका पर्यटकलाई यस क्षेत्र आर्कषक गन्तब्य भएको बताए ।
‘भैसी गोठ थिचोल्दै पुगिन्छ, जहाँ हेरेपनि सुन्दरता पोखिएको छ,समथर जमिनमा रहेकाले एकपटक पुग्नैपर्ने गन्तब्य बनाउँछौ’ ज्ञानप्रकाश माविका शिक्षा विकास कोषका संयोजक समेत रहेका तुलाचनले भने। मतीचौर क्षेत्रको सम्रग विकासका लागि दानाबासी एकजुट भएकाले सहज भएको समाजसेवी तुलाचनको भनाई छ ।
बली नदिई शुद्ध पूजाआजाका लागि विष्णु लक्ष्मीको मन्दिर निर्माण गरिएको छ । बेनी–जोमसोम सडकखण्ड अन्तरगत दाना, घट्टेखोला, डाँडागाउँ देखि कुलीबाङ्ग हुँदै द्वारी गाउँसम्मसडक पुगेको छ ।दुवारीदेखि करिव १ घण्टाको जंगलै जंगलको पैदलयात्रापछि मतिचौर पुग्न सकिन्छ । मोतीचौरमा दर्शन गर्न जाने भक्तजनलाई टेन्ट, म्याटेस लगायतका भाँडाकुडासमेत उपलब्ध छ ।
आर्थिक बर्ष २०७७÷०७८ मा अन्नपुर्ण गाउँपालीका बाट बिनियोजित आठ लाख, देश तथा विदेशमा रहेका दाना बासीहरुबाट प्राप्त सहयोग रु बाह्र लाख गरि कुल २० लाखको लगानीमा धारा लगायतका संरचना निर्माण गरिएको थियो । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भरतकुमार पुनले मतीचौर क्षेत्रको विकासका लागि गाउँपालिकाले प्राथमिकतामा राखेको बताए ।
‘अन्नपूर्ण धार्मिक तथा पर्यटनका लागि गन्तब्य हो, हामीले सिमित बजेटलाई सबै क्षेत्रमा प्राथमिकता दिएका छौ, यहाँका समुदायको सक्रियता लोभलाग्दो छ,’ अध्यक्ष पुनले भने । मोतिबराहकाको विकास र प्रर्बधनमा संरक्षक टेक बहादुर थापा, लेफ्टिनेन्ट बेल बहादुर पुर्जा, कृष्ण तुलाचन,हरिमाया राम्जाली, आनन्द शेरपुञ्जा, गंगा बहादुर थापा लगायतको सक्रियता छ ।





