बागलुङ/नसर्ने रोगका बिरामीको पहिचान र उपचारका लागि बागलुङमा बिरामीको खोजपड्ताल अभियान सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालय र स्थानीय तह सँगको समन्वयमा नसर्ने रोगको पहिचान तथा उपचार अभियान सञ्चालन गरिने भएको हो ।
चालु आर्थिक वर्षमा अभियान सञ्चालन गर्न स्वास्थ्य कार्यालय बागलुङले समन्वय तथा अभिमुखीकरणका काम सुरु गरेको छ । पहिलो चरणमा ६ स्थानीय तहका प्रमुख तथा स्वास्थ्य शाखा प्रमुखहरुका लागि नसर्ने रोगको स्क्रिनिङसम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया गलकोटमा भैसकेको छ ।
अभियानमा ४० वर्ष माथिका नागरिकमा रक्तचाप, मधुमेह, कोलेस्ट्रोल, मृगैला जाँचको लागि प्रयोगशाला परीक्षणमार्फत् समुदायमा जाँच्ने र रोग पत्ता लगाउने काम हुनेछ । रोगको पहिचान भएका बिरामीलाई तत्कालै उपचारको प्रबन्ध गर्नेगरी स्थानीय तहसँग समन्वय भैरहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख बाबुराम आचार्यले बताए ।
गलकोट, ढोरपाटन नगरपालिका, ताराखोला, बडिगाड, निसीखोला र तमानखोला गाउँपालिका अभियानका लागि तयार भएको छ भने बाँकी चार पालिकामा समन्वयात्मक तथा अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन हुने उनले बताए ।
‘यो स्क्रीनिङ अभियान हो, सबैको जाँच गर्ने त्यो पनि अस्पतालकै प्रयोगशालामा भन्नेमा हामी छा,ैं’ आचार्यले भने, ‘पश्चिममा गलकोट अस्पताल र दक्षिणमा धौलागिरी अस्पतालको प्रयोगशालामा परीक्षण हुनेगरी अभियान चल्छ ।’ बजेट कम रहेकाले स्थानीय तहको सक्रियता र सहभागितामा अभियानको प्रभावकारिता निर्भर हुने उनले बताए ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक खिमबहादुर खड्काले कार्यक्रम महत्वपूर्ण भएकोले स्थानीय तहले प्रथामिकताका साथ कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । गलकोट नगर अस्पतालका प्रमुख डा. राजेश पौडेलले गलकोटमा सञ्चालन गरिएको नसर्ने रोगको स्क्रिनिङ शिविरको प्रभावकारिता हेरेर थप अभियान चलाउनुपर्ने बताए ।





