शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

जब सांसद गर्बुजाका पीए खुकुरी बोकेर आए !

जब सांसद गर्बुजाका पीए खुकुरी बोकेर आए !


  • ढोरपाटन संवाददाता
  • साउन २१ २०८१, सोमबार

पछिल्लो एक हप्तामा काठमाडौंमा खुकुरी प्रहारका चारवटा घटना भएका छन् । खुकुरी प्रकारको एउटा घटनामा सांसदका सहयोगी (पीए) समेत संलग्न भएको पाइएको छ ।

म्याग्दीबाट निर्वाचित कांग्रेस सांसद खमबहादुर गर्बुजाका पीए पृजेन भट्टचनले सुन्धारामा एक ट्याक्सी चालकलाई खुकुरी प्रहारको प्रयास गरेका छन् ।

१३ साउनको बिहान सवा ८ बजे सुन्धाराको माउन्ट गोर्खा होटल अगाडि ट्याक्सी रोकेको निहुँमा विवाद हुँदा भट्टचनले चालक सन्तोष मगरलाई खुकुरी प्रहारको प्रयास गरेका हुन् ।

ट्याक्सी चालक मगरका अनुसार यात्रु छाडेर फर्कदै गर्दा मोबाइलमा फोन आएपछि साइड लगाएर उनी फोन उठाउन लागेका थिए । त्यही बेला भट्टचनले ‘ओई यो ट्याक्सी हटा, यहाँ रोक्छस् ?’ भन्दै गाली गरेको मगरले बताए । कसलाई गाली गरेको भन्दा आफूलाई दुई मुक्का हानेको उनले बताए । त्यसपछि होटलभित्र प्रवेश गरेका भट्टचनले पत्रिकाले बेरेर खुकुरी लिएर आएका थिए ।

खुकुरी खोस्ने क्रममा ट्याक्सी चालकहरु नरबहादुर श्रेष्ठ र कुमार श्रेष्ठको हात काटिएको छ । त्यसपछि ट्याक्सी चालकहरुले प्रहरी वृत्त जनसेवामा फोन गरेर प्रहरी बोलाई भट्टचन जिम्मा लगाएका थिए । तर प्रहरीले जाहेरी नै दर्ता नगरेको उनीहरुको आरोप छ ।

जनसेवा प्रहरी वृत्तका डीएसपी रुकेश तण्डुकारले सुरुमा घटनाबारे अनविज्ञता प्रकट गरेका थिए । भिडिओ नै सार्वजनिक भएको बताएपछि भने उनले घटना सामान्य भएको दाबी गरे । ‘घटना सामान्य भएकाले जाहेरी दर्ता नगरिएको हो । सम्झाई बुझाई गरेर छाडेका हौं’, डीएसपी तण्डुकारले भने ।

तर कांग्रेसका सांसदको पीए भएकै कारण माथिल्लो निकायबाट प्रहरीमाथि दबाब आएपछि जाहेरी दर्ता नगरिएको प्रहरी स्रोतको दाबी छ ।

भट्टचनले पनि ट्याक्सी चालकसँगको विवादमा आफूले खुकुरी लिएर गएको स्वीकार गरे । ‘आवेगको बेलामा के–के हुने रहेछ, खुकुरी लिएर जान हुन्थेन, त्यस्तै भयो । आफ्नो सुरक्षाका लागि लगिएको हो । कसैलाई आक्रमण गर्न लगिएको होइन’, भट्टचनले भने ।

सुन्धारामा ट्याक्सी चालक र होटल व्यवसायीहरुको विवाद पुरानै हो । भट्टचनले भने, ‘म होटल व्यवसायी संघमा छु । ट्याक्सीवालालाई बारम्बार भन्दा पनि ट्याक्सी पार्किङ गर्ने क्रम रोकिएन । त्यो दिन पहिले उनीहरुले मलाई मुख छाडेका हुन् । त्यसपछि भनाभन भयो ।’

ट्याक्सी चालकहरुले आफूमाथि आक्रमण गर्न खोजेपछि खुकुुरी लिएर गएको भट्टचनको भनाइ छ । ‘ममाथि आक्रमण गर्न खोजेपछि आफ्नो सुरक्षाका लागि त्यस्तो गरेको हो । आवेगको बेलामा त्यस्तो हुने रैछ’, उनले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->