बागलुङ/ढोरपाटन नगरपालिका वडा नं. ७ का सौरभ गुरुङ भर्खर ११ वर्षको भए । उनको शरीरभर पोलेको घाउ छ । संवेदनशील घाउ बोकेर उनी सदरमुकामस्थित रामरेखा आधारभूत विद्यालयमा तीन वर्षदेखि पढ्दै छन् । कक्षा ३ मा पढ्ने उनको शरीर देख्दा धेरै मानिस डराउँछन् । टाउको, कानदेखि शरीरसम्मै पोलिएको घाउ छ ।
सौरभका बाबु देबिरामको ५ वर्षअघि दुर्घटनामा मृत्यु भएको थियो । त्यसपछि आमा हेमसराले दुःख गरेर ७ सन्तान हुर्काएकी छिन् । ४ छोरी र ३ छोरालाई मजदुरी गरेर पाल्न कठिन भयो । अपांगजस्तै भएकोले माइलो छोरा सौरभलाई रामरेखा विद्यालयले ल्याएर पढाएको छ । घरदेखि १ सय किमी पूर्वको रामरेखामा पढ्ने छोरा भेट्न हेमसरा आउन भ्याउँदिनन् । बरु बिदा भएको बेला कोही चिनेजानेको खोजेर विद्यालयका शिक्षकले पठाइदिने गर्छन् ।
उनको घाउ बेलाबेला दुख्ने गरेको छ । ‘चिसोमा त धेरै दुख्ने गरेकोले रुन्छन्,’ शिक्षकहरुले भने, ‘के भएको हामीले केही गर्न सक्दैनौं, कहिलेकाहीं औषधि ल्याएर खुवाउने गरेका छौं ।’ उनको शरीरको पूर्ण उपचार हुन सकेको छैन । उपचार संभव हुने भएपनि खर्च कसले गर्ने भन्ने अन्यौल हुँदा शिक्षकले पनि कतै पठाउन सकेका छैनन् । उनको घाउ हेरेर आवस्यक स्थानमा उपचारका लागि पठाउन खर्चको अभाव भएको प्रअ सिर्जना शर्माले बताइन् ।
अन्य समयमा विद्यालयमा रहेको शारीरिक अपांगहरु बस्ने छात्रावासमा सौरभ पनि बस्दै आएका छन् । सौरभका दाइदिदीले पढ्दैनन् । सानैदेखि गाउँमै मजदुरीमा लागेको उनले बताए । सानो भाइ मात्र कक्षा २ मा पढेका छन् । आफ्नै आमा बाबुको काखमा बसेर पढ्ने र रमाउने उमेरमा उनी १ सय किमी परको विद्यालयमा आइपुगेका छन् । घाउ दुख्दा वा अरु बेलामा आमा सम्झेर रुन्छन् । छात्राबासका ‘आया’ले सम्झाइ बुझाइ गरेर राख्ने गरेको प्रअ शर्माले बताइन् । समस्यामा परेका बालबालिका खोजी गर्ने क्रममा व्यवस्थापन समितिले सौरभलाई ल्याएको हो ।
उनीसहित यो विद्यालयमा पढ्ने १ सय ४० बालबालिकाको लागि शैक्षिक सामग्री र विद्यालय पोशाक धौलागिरी एकीकृत ग्रामीण विकास केन्द्र (डिआइआरडिसी)ले सहयोग गरेको छ । खानेबस्ने व्यवस्थापन बागलुङ नगरपालिकाको जिम्मामा छ । बागलुङ नगरपालिका १ को रामरेखा आधारभूत विद्यालयमा शारिरीक अपांग भएका विद्यार्थी राखेर पढाउने गरिन्छ । यहाँ कक्षा १ देखि १२ सम्म पढ्ने १३ जना पूर्ण अपांगसहित ४५ जनामा कुनै न कुनै किसिमको अपांगता भएका बालबालिका पढ्छन्् । ती मध्ये कक्षा ८ सम्मका यहीं विद्यालयमा पढ्छन् भने बाँकी अन्यत्र जान्छन् । अन्यत्र जानुपर्ने विद्यार्थीलाई भने सास्ती छ । ‘यहाँजस्तै अपांग बिद्यार्थीलाई पढाउने र राख्ने व्यवस्था छैन, जवरजस्ती भर्ना गर्ने हो,’ विद्यालयका शिक्षक विष्णुराज पौडेलले भने, ‘कक्षा ८ पास गरेपछि पढाइ छाड्नुपर्ने बाध्यता छ ।’ उचित ठाउँ नपाएपछि कतिपय विद्यार्थीले पढाइ छाडेका छन् ।

यो विद्यालय पढेर कक्षा ८ उत्तिर्ण गरेका जीवनबहादुर क्षेत्रीले पनि पढ्ने ठाउँ नपाएर धेरै समय अलपत्र परे । पछिल्लो समय धौलागिरी बहिरा विद्यालयले उनलाई भर्ना गरेर पढ्ने अबसर दिएको छ । यहाँ बहिरालाई सांकेतिक भाषामा पढाइन्छ । क्षेत्रीले भने बाध्यताले बहिरासँगै भाषा सिकेर कक्षा ९ पढ्न थालेका हुन् ।
बडिगाड गाउँपालिका ९ का क्षेत्रीको पाँच वर्षअघि क्यान्सरका कारण खुट्टा काटिएको थियो । बाबु थम्मन र आमा तपकुमारीले ज्याला मजदुरी गरेर छोराछोरी हुर्काएका छन् । जीवनका दाइ रामु छुट्टिएर बसेका छन् । दिदी देवी, भाइ रमित र बैनी मनिषा पढाउनुपर्दा परिवारमा आर्थिक संकट चुलिएकोले पढाउन नसकेपछि यो विद्यालयमा आइपुगेका थिए । अझै २ वर्षका लागि बहिरा विद्यालयले पढ्ने अबसर दिनेछ । त्यसपछि भने उनको अवस्था के हुने भन्ने अन्यौल छ ।
अवसर नपाएका बालबालिका पढाउने गरी बनाइएको छात्राबासमा अहिले पनि १३ जना अपांग बालबालिका छन् । उनीहरुको लागि खानेबस्ने व्यवस्थापन गर्दा खर्च अभाव छ । बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले त्यस्ता बालबालिकालाई कक्षा १२ सम्म पढ्ने अवसरका लागि पहल गरेको बताए । ‘छात्रावासमा स्याहार गर्न राखिएका आयालाई तलब बढाएर सक्रिय बनाउन लागेका छौं,’ श्रेष्ठले भने, ‘जसको अभिभावक छैनन्, उनीहरुको नगरपालिकाले साथ दिन्छ ।’
डिआइआरडिसीकै पहलमा यहाँका बालबालिकालाई ओसार्न गाडीको व्यवस्थापन गरिएको कार्यक्रम संयोजक शालिकराम शर्माले बताए । राजश्व छुट गरेर २० लाखमा ल्याइएको गाडीले कालीगण्डकी किनारका माझी बस्तीका बालबालिका, अपांगता भएका बालबालिका र मजदुरका छोराछोरी बोक्ने व्यवस्था गरिएको व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र केसीले बताए ।





