बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

फेरिएको पाण्डवखानी स्वास्थ्यचौकी

फेरिएको पाण्डवखानी स्वास्थ्यचौकी


  • ढोरपाटन संवाददाता
  • साउन २६ २०८१, शनिबार

बागलुङ/तीन वर्ष अघिसम्म जीर्ण र अस्तव्यस्त देखिने पाण्डवखानी स्वास्थ्य चौकी अहिले नमूनाको रुपमा चिनिन थालेको छ । भएको श्रोत र साधनलाई व्यवस्थापन गर्दा यो चौकी नमूना बन्न लागेको हो ।
स्वास्थ्य चौकीमा आएका धेरै सामाग्री र उपकरणहरु प्रयोगबिहिन थिए । कतिपय सामान पुरानो भएर फाल्ने जस्तै भैसकेका थिए । सरसफाइ अभियान चलाएर पुनः प्रयोगमा ल्याइएको छ भने दाता संस्थाले अत्यावस्यक सामाग्री दिएपछि सेवा प्रभावकारी भएको हो ।
स्वास्थ्य चौकी प्रमुख सिनियर अहेव रत्ना सुनारका अनुसार, नयाँ भवन र सेवा प्रवाह चुस्त भएपछि बिरामीहरु पनि बढी आउन थालेका छन् । स्वास्थ्य चौकीले वर्षमा दुइ पटकसम्म शिविर समेत संचालन गर्छ । शिविरमा एकैपटक ५ सय जनासम्मले सेवा लिएको तथ्यांक छ भने दैनिक ४० जनासम्म बिरामी आएर सेवा लिने गरेका छन् ।
यो स्वास्थ्य चौकी बर्थिङ सेन्टर पनि हो । तर यहाँ हात धुने बेसिन थिएन । फोहोरलाई व्यवस्थित गर्नेभन्दा यत्रतत्र फाल्ने गरिन्थ्यो । जब फेयरमेड फाउण्डेसनले यहाँको व्यवस्थापनमा सहयोग गर्दै २ दिने तालिम दियो त्यसपछि सबै जनाको व्यवहारमा पनि परिवर्तन आयो । उनीहरुले स्वास्थ्य संस्थाको सुधारमा काम गर्न थाले ।
‘तालिम त दुइ दिनको मात्रै हो, तर सबै समूहलाई जागरुक बनायो’ सुनारले भनिन्, ‘अहिले राम्रा उपकरण पनि आएका छन्, काम गर्न सहज भएको छ ।’ यहाँ सुत्केरी बेड सहित भिडियो एक्सरे सेवा पनि संचालनमा ल्याइएको छ । माटोको भवनमा सुत्केरी गर्ने अवस्थाबाट अहिले टायल बिच्छ्याएको कोठा तयार भएको छ ।
त्यस्तै सरसफाइका लागि बेसिन र पानीको व्यवस्था छ । सालनाल व्यस्थापन गर्ने स्थान बनाइएको छ । फोहोरजन्य सामानको उचित बिसर्जनले सफाइमा सहयोग पुगेको हो । स्वास्थ्य चौकीको व्यवस्थापन नभएकै कारण कतिपयले धेरै पैसा र समय खर्चेर गलकोट र सदरमुकाम बागलुङसम्म उपचार गर्न जाने गरेका थिए । सडक उत्तिकै अप्ठ्यारो थियो । कतिपय गर्भवतीहरु पहिले देखिनै गलकोटमा पुगेर होटलमा बस्न बाध्य थिए । जसको कारण उनीहरुले हजारौं रुपैयाँ खर्चन बाध्य हुनुपथ्र्यो ।
जटिल समस्या भएकाहरु त अहिले पनि पोखरासम्म जान्छन् । ‘पहिला बाध्यताले पोखरा जानुपर्नेहरु थिए भने अहिले रिफर भएकाहरु मात्रै जान्छन्’ सुनारले भनिन्, ‘तालिम प्राप्त स्वास्थ्यकर्मी भएकोले अब आत्तिनुपर्ने छैन ।’ उनका अनुसार, गतवर्ष २५ जनाले यहाँबाट प्रसुती सेवा लिएका थिए । ७ जना जटिल समस्या भएकोले रिफर गरिएको थियो ।
यी सबै परिवर्तन हुनुमा स–साना सूचकले काम गरेको देखिन्छ । पाण्डवखानीमा संचालन गरिएको दुइ दिने संक्रमण व्यवस्थापन सम्बन्धी तालिम र पुराना सामानको सफाइ गर्ने अभियानले यो परिवर्तन भएको हो भन्छिन् स्थानीय मनिषा थापा । यहाँ ल्याइएको बेबीवार्मर मेसिन चिसो मौषममा थप सहयोगी भएको छ । जन्मने बित्तिकै शिशुलाई तताउन पाइएपछि निमोनियाको समस्या हटेको छ’ सुनारले भनिन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->