बागलुङ/कोरोना संक्रमण कालअघि गलकोट नगरपालिका २ को नरेठाँटी स्वास्थ्य चौकीमा सामान्य स्वास्थ्य सेवा मात्र प्रवाह थियो । त्यसअघि पुरानो भवनमा उपचार गरिने भएकाले स्थनीयले पनि बेवास्ता गर्थे ।
संक्रमणकालमा स्वास्थ्य चौकीमा आइसोलेसन संचालनमा ल्याइयो । त्यसपछि मात्र यहाँ स्वास्थ्य चौकीको सेवा शुरु भएको हो । तर छोटो समयमा यो स्वास्थ्य संस्थाले धेरै सुधार गरेर नागरिकको मन जितेको छ । यहाँ नियमित स्वास्थ्य सेवासहित सुरक्षित प्रसुती सेवा पनि संचालनमा छ । बर्थिङ सेन्टर बनेपछि वर्षमा ४३ देखि ५० जना सम्मले यहींबाट सेवा पाएको स्वास्थ्य चौकीका प्रमुख दिलु सुवेदीले बताए ।
यहाँको पुरानो भवनलाई क्षयरोगको उपचार केन्द्रको रुपमा विकास गरिएको छ । स्वास्थ्य चौकीले स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधी सेवन गरिने गरी डट्स बिधि यहाँ संचालनमा छ । यहाँ ल्याब समेत संचालनमा छ । जसको कारण क्षयरोगको परीक्षण गर्न आउने बिरामीले पनि अन्य बिरामीसँग भेट्न पर्दैन । जसको कारण स्वास्थ्य चौकीको सेवाप्रति आम नागरिकको विश्वास बढेको हो । कार्यालय प्रयोजनको लागि स्वास्थ्यकर्मी जानु परेमा यहाँको खोलामा फलामे पुल बनाइएको छ । तर, अन्य कामको लागि आउनेहरु कोही पनि जाँदैनन् । त्यसले सुरक्षित र गोप्यता कायम गर्न सहज भएको हो ।
वडा कार्यालयले स्वास्थ्य चौकीलाई नमूना बनाउन लगानी बढाएको छ । खुला चउर, अपांगमैत्री शौचालय, बिरामी प्रक्षिता घर, हरियाली बनाएर आर्कषक बनाइएको वडा अध्यक्ष हिमबहादुर भण्डारीले बताए । हरेक बिरामी उपचारमा आउने वित्तिकै उनीहरुको नाम अनलाइनमा प्रविष्टि गरेर नगरपालिकाको तथ्यांकमा राख्ने गरिएको छ । यसले नगरका बिरामीको अवस्था, रोगको प्रकृति बारे अध्ययन गर्न सहज भएको छ ।
स्वास्थ्य चौकीमा इमरजेन्सी किट बक्स पनि राखिएको छ । औषधी कति भित्रियो, कति खर्च भयो र कति स्टोरमा बाँकी छ भन्ने जानकारी समेत अनलाइनमा देखिने गरी व्यवस्थापन गरिएको नगर स्वास्थ्य शाखाका प्रमुख शुसिल पौडेलले बताए ।
यो स्वास्थ्य चौकीमा सेवा प्रवाहलाई गुणस्तरीय बनाउन फेयरमेड फाउण्डेसनले बर्थिङ सेन्टर र ल्याबकालागि चाहिने सामाग्री सहयोग गरेको छ । बाहिरी वातावरण बनाउन भने विदेशमा बस्ने युवाहरुले साथ दिएका छन् । यहाँ आकस्मिक कोष बनाएर तत्काल रिफर गर्नुपर्ने बिरामी भएमा कोषबाट सहयोग जुटाइन्छ । त्यस बाहेक आफ्नै एम्बुलेन्स भएकोले बिरामीलाई तत्काल भनेकै स्थानमा लैजान पनि सहयोग पुगेको भण्डारीले बताए ।





