म्याग्दी/जिल्ला अदालत म्याग्दीले कार्यसम्पादनलाई छिटो, सहजरुपमा सञ्चालन र न्याय दिने उद्देश्यले पेशी तारिखका लागि स्वचालित (अटोमेसन) प्रणाली लागू गरेको छ । यही साउन १ देखि अटोमेसन प्रयोगमा आएपछि सहज भएको अदालतले जनाएको छ ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितले आइतबार बालबालिकासम्बन्धि मुद्धा, सोमबार र मंगलबार ६ महिनाभित्र टुंगाउनुपर्ने मुद्धा, बुधबार १ बर्षभित्र र बिहिबार दुई बर्षभित्र टुंगो लगाउनुपर्ने मुद्धाहरु हेरिने बताए । ‘यो प्रणालीले सेवाग्राहीलाई फाइदा पुग्नेछ, हामीले समुदायस्तरमा पुगेर गरिने सचेतनामुलक कार्यक्रममा समेत यसको प्रचारप्रसार गर्नेछौ’ न्यायाधीश पण्डितले भने ।
अटोमेसन प्रणाली लागु भएपछि अदालतमा मुद्दा दर्ता भएपछि कर्मचारीले तारेख, पेशी लगायत सबै क्रियाकलापमा समय तोक्ने झन्झट हटेको छ । आधुनिक प्रविधिका कारण फैसलामा हुने ढिलाइ अन्त्य हुनुकासाथै नागरिकले तोकिएकै समयमा न्याय पाउँदा न्यायलयप्रतिको विश्वास बढ्ने, कार्यसम्पादन र प्रगतिमा सुधार हुने, बार्षिक लक्ष्य प्राप्तीमा समेत सहज हुने जिल्ला अदालतका स्रेस्तेदार झोलाराज रेग्मीले बताए । ‘अबका दिनमा कार्यसम्पदानमा झनै प्रभावकारी हुन्छ’ उनले भने । अटोमेसनलाई अदालतको मुद्धा फर्छ्योट दरमा सुधार हुने र लामो समय मुद्धामा अल्झिएर बस्न नपर्ने उनले बताए ।
अटोमेसन पद्दती लागू भएपनि क्यालेण्डर तोकिएअनुसार नै कार्यसम्पादन हुदाँ पेशी चढेका सरल, सामान्य र बिशेष मुद्धाको फैसला प्रक्रियामा समेत सहज हुनेछ । जिल्ला अदालत म्याग्दीमा गत २०८०÷०८१ मा ५६५ थान मुद्धा रहेकोमा ३८४ थान मुद्धा फछ्यौटको लक्ष्य रहेकोमा ४ सय ८३ थान अर्थात ८१ प्रतिशत मुद्धा फछ्र्यौट भएको छ । अघिल्लो वर्षका १ सय १० थान मुद्दा चालु वर्षलाई सरेका छन् । अब दायित्व सरेका मुद्दा र नयाँ दर्ता भएका मुद्दा पनि प्राथमिकताको आधारमा पेशीमा राखिएको छ । अटोमेसन प्रणालीले कसैको पनि हस्तक्षेप नहुने, पेशी मिति फेरिने समस्या पनि हट्ने, चिनजानेको कानून व्यवसायी र पहुँचवालाले आफ्नो पेशी अनुकुलतामा राख्ने चलखेल समेत टरेको छ ।





