बागलुङ/युवा पुस्तालाई स्वरोजगारमुलक सीप सिकाईरहेको धौलागिरी एकिकृत ग्रामिण विकास केन्द्र (डिआईआरडिसी) बागलुङले ४१ जना युवालाई सीप परीक्षण पछि प्रमाणपत्र प्रदान गरेको छ । केन्द्रले सञ्चालन गरेको चार महिने विद्युत वाईरिङ र सिलाई कटाई तालिम लिएका ४१ जना प्रशिक्षार्थीले प्रमाणपत्र पाएका हुन् ।
उनीहरुको प्राबिधिक शिक्षा तथा व्यवसायीक तालिम परिषदले सीप परीक्षण गरेपछि उत्तिर्ण सबैलाई प्रमाणपत्र प्रदान गरिएको केन्द्रका कार्यक्रम निर्देशक शालिकराम शर्माले बताए । सिलाई कटाईका २१ र विद्युत जडान सम्बन्धि तालिम लिएका २० जनाले सीप सिकेको प्रमाणपत्र पाएका छन् । मेटल तालिम लिएका ३० जना युवाले यसअघि नै प्रमाणपत्र पाईसकेका छन् । केन्द्रले वर्षभरि नै युवाहरुका लागि निशुल्क प्लम्विङ, हाउस वाईरिङ, मेटल र टेलरिङ सम्बन्धि तालिम सञ्चालन गर्दै आएको छ ।
आगामी व्याजका लागि समेत मेटल वर्कमा २०, प्लम्विङमा ३० र टेलरिङमा ३० जना छनोट भैसकेको मेटल वर्क प्रशिक्षक दिनेश विकल्पले बताए । प्रमाण पत्र वितरण कार्यक्रममा केन्द्रका अध्यक्ष के.वि. राना मगरले विदेशको मोह छोडेर स्वदेशमै स्वरोजगारीमा लाग्न युवाहरुलाई आग्रह गरेका थिए । कार्यक्रम निर्देशक शालिकराम शर्माले तालिम लिनुमात्रै उपलव्धी नभएको भन्दै सिकेका विषयलाई प्रयोगमा ल्याउन र आम्दानीसँग जोडिन आग्रह गरे । रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रशिक्षक पार्वती परियारको स्वागत र चन्द्रा थापाको सञ्चालन रहेको थियो ।





