बागलुङ/सुस्त मनःस्थिति कल्याण संस्था बागलुङद्वारा सञ्चालित बागलुङ विशेष बाल कक्षा प्राथमिक विद्यालयलाई बालबालिकालाई फलफुल वितरण गरिएको छ ।
शैक्षिक क्यालेन्डर अनुसार बागलुङ नगरपालिका वडा नं. १ रामरेखास्थित सिद्वार्थ शिक्षा सदनले शुक्रबार विद्यालयका बालबालिकालाई झण्डै ५ हजार रुपैयाँ बराबरको फुलफुल वितरण गरेको विद्यालयका शिक्षक नगेन्द्र मल्लले जानकारी दिए ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक युक्तजंग राजभण्डारीले विद्यालयमा पर्याप्त भौतिक संरचना नहुँदा बौद्विक अपाङ्गता भएका धेरै बालबालिकाहरु शिक्षाबाट बञ्चित हुनुपरेको बताए । आफ्नो अधिकारबारे भन्नसमेत नसक्ने बौद्विक अपाङ्गता भएकाहरुलाई सामाजिक सद्भावको खाँचो छ’ राजभण्डारीले भने, ‘सामाजिक जागरणको अभावमा धेरै बौद्विक अपाङ्गता भएका बालबालिकाहरुलाई शिक्षाको उज्यालोबाट विमुख बन्नुपरेको छ ।’
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश प्रसाद श्रेष्ठले विद्यालयमा भवनको अभाव हुँदा बालबालिकालाई सहज रुपमा पठनपाठन गर्न असहज भएको बताए । समाजबाट अपहेलित बौद्विक अपाङ्गता भएका बालबालिकालाई स्वतन्त्र रुपमा शिक्षा लिन पाउने अधिकारको सुनिश्चित गर्न राज्य गंभीर बन्नुपर्ने श्रेष्ठको भनाई थियो । विद्यालयमा बागलुङको गलकोट, बुर्तिवाङ, कास्की, म्याग्दी र पर्वतका गरी ३६ जना बालबालिकाले अध्ययन गर्छन् । उनीहरुमध्ये २२ जनाले आवासिय सुविधा लिएर अध्ययन गर्दै आएका छन् ।
सिद्वार्थ शिक्षा सदनका शिक्षक मोहन खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ढोरपाटनका कार्यकारी सम्पादक रामकृष्ण बोहरा लगायतले बोलेका थिए । कार्यक्रमको संचालन शिक्षक नगेन्द्र मल्लले गरेका थिए । हरेक साता रचनात्मक गतिविधि गर्दै आएको विद्यालयले यसअघि आयोजना गरेको दाँत तथा आँखा जाँच शिविरमा ३ सय ३५ जना बालबालिका लाभान्वित भएका थिए ।





