बागलुङ/विद्यामन्दिर पुस्तकालय बागलुङका पूर्व पुस्ताकाध्यक्ष हरिहर श्रेष्ठलाई दीर्घ सेवा सम्मान प्रदान गरिएको छ । १७ औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा विद्यामन्दिर पुस्तकालयले श्रेष्ठलाई सम्मान प्रदान गरेको हो ।
‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ भन्ने नाराका साथ विद्यामन्दिरले भदौ ११ देखि १५ गतेसम्म विभिन्न रचनात्मक कार्यक्रम गरेको पुस्तकालयको शनिबार आयोजित मुल समारोहमा गण्डकी प्रदेशसभा सदस्य कृष्ण पाठकले श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
कार्यक्रममा बोल्दै सांसद पाठकले प्रविधिको विकासले पुस्तकालयको महत्व घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै पुस्तकालयलाई प्रविधिमैत्री बनाउन आवश्यक रहेको धारणा व्यक्त गरे । पुस्तकालयलाई समाजसंग जोड्न आवश्यक रहेको चर्चा गर्दै पाठकले प्रविधियुक्त र व्यवस्थित पुस्तकालयका लागि गण्डकी सरकारबाट सहयोगका लागि पहल गर्ने प्रतिवद्धता समेत जनाएका थिए । उनले शिक्षाको विकास बिना हरेक क्षेत्रको विकास असम्भव रहेकाले पठन संस्कृतिको विकास गर्न सबैले चासो दिनुपर्ने औल्याए ।
कार्यक्रममा पुस्तकालयका प्रमुख कार्यवहाक संरक्षक लालचन्द्र राजभण्डारी, सम्मानित पूर्व पुस्ताकाध्यक्ष श्रेष्ठ, सुशिला श्रेष्ठ, एनप्याव्सन बागलुङका अध्यक्ष नेत्रलाल न्यौपाने, विद्यामन्दिर माविका प्रधानाध्यापक छविरमण रेग्मी, पत्रकार महासंघ बागलुङका सचिव विजय राना र गंगाप्रसाद स्मृति कोषका संस्थापक एवम् पुस्तकालयका निवर्तमान अध्यक्ष रामप्रसाद शर्माले पुस्तकालयको महत्वबारे चर्चा गरेका थिए ।
कार्यक्रममा विदाई भएर जान लागेकी पुस्ताकाध्यक्ष सुशिला श्रेष्ठलाई सम्मान र निबन्ध लेखनका विजेताहरुलाई गंगाप्रसाद स्मृति कोषबाट पुरस्कार प्रदान गरिएको थियो । निबन्ध लेखनमा प्रथम हुने गणेश माविकी छात्रा सदिक्षा सुनार, द्वितिय हुने न्यू ओयसिस एकेडेमकीका छात्रा दृष्टि भण्डारी, तृतिय हुने फ्यूचर ब्राइटर माविका विशाल परियार र सान्त्वना स्थान प्राप्त गर्ने चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलका प्रमिशा केसीलाई क्रमशः चार, तीन, दुई र एक हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।
सो अवसरमा पुस्तकालयका सल्लाहकार सदस्य श्याम श्रेष्ठले बालविकास केन्द्रका लागि शैक्षिक तथा खेलकुदका सामाग्री प्रदान गरे । कार्यक्रम पुस्तकालयका अध्यक्ष राम थापा ‘अविरल’को अध्यक्षता, उपाध्यक्ष रामचन्द्र शर्माको स्वागत र सचिव राजनप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो । दिवसको अवसरमा शनिबार बिहान बालविकास केन्द्रका बालबालिका, सहजकर्ता, पुस्तकालयका पदाधिकारी, सदस्य, कर्मचारी, पत्रकार गरी १ सय बढिको निशुल्क आँखा जाँच गरिएको थियो ।





