बागलुङ/अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को जिल्ला अध्यक्षमा विकास कँडेल सर्वसम्मत चयन भएका छन् । अखिल (क्रान्तिकारी) को गल्कोट हटियामा सम्पन्न २५ औं जिल्ला सम्मेलनले कँडेलको अध्यक्षतामा ४१ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा प्रभात साहनी, भिम बुढा, कमला पौडेल, सचिवमा प्रदिप थापा, कोषाध्यक्षमा मञ्जु रसाईली, सहसचिवमा मदन पौडेल र देबिराम घर्ती छन् । सम्मेलनको उद्घाटन गर्दै क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष नारायण खनालले विश्व बजारमा प्रतिष्पर्धा गर्ने वैज्ञानिक समाजवादी शिक्षा आजको आवश्यकता भएको धारणा राखे । उनले देशमा दुईथरि शिक्षा भएको र त्यसले अनुत्पादक भएकाले राज्यले शिक्षामा बजेट बढाउँदै गुणस्तरिय र प्राविधिकयुक्त बनाउनुपर्ने बताए ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज बलावती शर्माले विद्यार्थी परिवर्तनका बाहक भएकाले जनयुद्धका उपलब्धीको रक्षा गर्दै समाजवादी शिक्षा प्राप्तिका लागि क्रान्तिकारीमा संगठित हुन आव्हान गरिन् ।





