पोखरा / एमालेबाट गण्डकी प्रदेश सरकारमा स्वास्थ्यमन्त्री बनेका कृष्णप्रसाद पाठकले पहिलो निर्णय के गरे त ? यो विषय चासोको रुपमा हेरिएको छ । सरकार आँफै नागरिकप्रति उत्तरदायी बन्नुपर्ने वताउदै आएका पाठकले आफु मन्त्री भएपछि पहिलो निर्णय भने नसर्ने रोगको स्क्रिनिङ गर्ने विषयलाई बनाएका छन् । उनको पहिलो निर्णय नसर्ने रोगको पहिचान योजनालाई कार्यान्वयनमा लैजाने छ ।
मन्त्रीको शपथ लिएपछि सोमबार पदभार ग्रहण गर्दै मन्त्री पाठकले स्थानीय तहसँग मिलेर नसर्ने रोगको पहिचान थाल्ने निर्णय गरेका छन् । अहिलेको बदलिँदो जीवनशैली, अस्वस्थकर खानपान, धुम्रपान, अत्यधिक तनाव लगायतले नसर्ने रोगको संख्या बढिरहेको छ । नेपाल बर्डन अफ डिजिज, २०१९ को तथ्यांक अनुसार नेपालमा हुने मृत्युमध्ये ७१ प्रतिशत मृत्यु नसर्ने रोग जस्तै रक्तचाप, मधुमेह, मोटोपन, क्यान्सर आदिबाट हुने गरेको छ ।
प्रारम्भिक अवस्थामै समुदायमा नसर्ने रोग पहिचान गर्न सकेमा त्यसले ठूलो रूप लिन नसक्ने र मृत्यु दर पनि न्यूनीकरण गर्न सकिने भएकाले नसर्ने रोगको स्क्रिनिङको निर्णय गरेको मन्त्री पाठकले बताए । नेपाल सरकारले नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना २०२१-२५ कार्यान्वयनमा ल्याएको छ । त्यसैअनुसार स्थानीय तहसँग मिलेर नसर्ने रोगको पहिचान गरिने मन्त्री पाठकले बताए ।





