पोखरा/पोखरा महानगर पालिका वडा नं. १६ ले विभिन्न विषयमा विद्यावारिधी गरेका वडाभित्रका विभिन्न शिक्षासेवीलाई सम्मान गरेको छ ।
ऐतिहासिक बाटुलेचौर तीजमेलाको अवसरमा वडा शिक्षा समितिको निर्णय अनुसार २५ जना विषय विज्ञ र २ वटा सामुदायिक विद्यालयलाई सम्मान गरेको हो ।
वडाले प्रा.डा. टंकनाथ शर्मा, डा. गेहेन्द्रमान उदास, डा. दिर्घमान गुरुङ, डा. गोपाल घिमिरे, डा. महेन्द्र बहादुर बानियाँ, डा. अर्जुन बानियाँ, प्रा.डा. धु्रवबहादुर कार्की, डा. श्रीराम आचार्य, डा. निशा बराल, डा. सुरेश पौडेल, डा. प्रज्ञा गौतम, डा. उत्तम थापा, डा. विदुर देवकोटा, डा. गौतम गुरुङ, डा. सुनिल भट्टराई, डा. श्रीकृष्ण आचार्य, डा. कुशल शर्मा, डा. पुष्पराज आचार्य, डा. अनुप बस्नेत, डा. संजय शर्मा तिमिल्सिना, डा. सुखबहादुर गुरुङ, डा. चन्द्र गुरुङ, डा. पुनम गौचनसहित २५ जनालाई पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्य, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्ची, पोखरेली रत्न जोर्ज जोन, वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले सम्मान पत्र, माला र सल ओढाएर सम्मान गरे ।
सोही अवसरमा सामुदायिक विद्यालयतर्फ नेपालकै उत्कृष्ट पहिलो बन्न सफल बाटुलेचौरको विन्ध्यवासिनी मावि र कास्कीमा उत्कृष्ट पाँचमा पर्न सफल लामाचौरको इन्द्रराज्य लक्ष्मी माविलाई पनि सम्मान गरिएको छ । विन्ध्यवासिनीका तर्फबाट प्रधानाध्यापक कृष्ण प्रसाद आचार्यले सम्मान ग्रहण गरेका थिए ।
कार्यक्रममा बोल्दैं पोखरा महानगर पालिकाका मेयर आचार्यले विशेषज्ञता हासिल गरेका विज्ञहरुको सम्मानले, समाज नै सम्मानित भएको बताए । मेयर आचार्यले आफ्नो विषयगत दक्षता समाज विकास र मानव सेवामा लगाउन आग्रह गरे ।





