बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पूर्णरुपमा हट्यो टिकटकमाथिको प्रतिबन्ध

पूर्णरुपमा हट्यो टिकटकमाथिको प्रतिबन्ध


  • ढोरपाटन संवाददाता
  • भाद्र २१ २०८१, शुक्रबार

पोखरा/ नेपाल दूरसञ्चार प्राधिकरणले सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई टिकटकको प्रतिबन्ध हटाउन सूचनामार्फत निर्देशन दिएको छ । प्राधिकरणले शुक्रबार सूचना जारी गर्दै यही भदौ ६ गते मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार टिकटकमा लगाइएको रोक हटाउन निर्देशन दिएको हो ।

‘नेपाल सरकार, मन्त्रिपरिषद्को २०८१ भदै ६ को बैठकबाट सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकको प्रयोगमा लगाइएको रोक हटाउने निर्णय भएको हुँदा अर्को निर्णय नहुँदासम्मको लागि टिकटकमा लगाइएको रोक हटाउन दूरसञ्चार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी सम्बन्धित सबै इन्टरनेट सेवा प्रदायकहरु र मोबाइल सेवा प्रदायकहरुलाई प्राधिकरणबाट निर्देशन जारी गरिएको छ’, सूचनामा भनिएको छ ।

सरकारले शर्तसहित टिकटक प्रतिबन्ध हटाउने निर्णय गरेको थियो । सामाजिक सद्भाव खलबल्याएको भन्दै सरकारले २७ कात्तिक २०८० मा टिकटक बन्द गरेको थियो । त्यसको करिब साढे नौ महिनापछि गत ६ भदौमा मन्त्रिपरिषद बैठकले शर्तसहित टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय लिएको थियो ।

टिकटक नेपालमा दर्ता हुनुपर्ने, सम्पर्क केन्द्र तोक्नुपर्ने, नेपालको पर्यटन प्रवद्र्धन, डिजिटल सुरक्षा, डिजिटल साक्षरता, सार्वजनिक शिक्षाका क्षेत्रमा सहयोग गर्नुपर्ने शर्त सरकारले राखेको थियो । टिकटकले आधारभूत र माध्यमिक विद्यालयबाट डिजिटल साक्षर अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । त्यस्तै सामाजिक दुर्भावना फैलाउने खालका कन्टेन्टभित्र रहेका शब्द, वाक्यहरूको अंग्रेजी, नेपालीसहित नेपालभित्र बोलिने अन्य भाषामा ‘फिल्टरेसन’ र ‘मोडरेसन’ गर्न पनि तयार भएको छ ।

२७ कात्तिक २०८० मा प्रतिबन्ध लगाएकै बेलादेखि टिकटकले सरकारलाई प्रतिबन्ध फुकुवा गर्न पटकपटक निवेदन दिएको थियो । चीन सरकारले पनि सरकारमाथि प्रतिबन्ध खोल्न दबाब बढाएको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->