पोखरा/सहारा क्लब पोखराले आयोजना गर्दै आइरहेको आहा रारा गोल्डकपको २३ औं संस्करणमा घाटा व्यहोरेपछि अध्ययन कमिटि बनाइने भएको छ । मोफलसकै सर्वाधिक प्रतिष्ठित र चर्चित प्रतियोगितामा हालसम्मकै सबैभन्दा बढी घाटा भएको हो ।
खेलकुदमा नेपालमै पहिलो पटक आयव्यय सार्वजानिक गर्दै स्थित बसालेको सहारा क्लब पोखराले सात महिना ढिला गरि आयव्यय सार्वजानिक गरेको हो । बिहिबार क्लबको सभाहलमा आयोजित आयव्यय सार्वजानिक कार्यक्रममा कोषाध्यक्ष विनु राना मगरले सार्वजानिक गरे अनुसार १५ लाख ५६ हजार ६ सय ६५ रुपैयाँ क्लबले घाटा व्यहोरेको हो । यो रकम २३ औं संस्करणसम्म आइपुग्दा सबैभन्दा बढी घाटा रकम हो । ९९ लाख ८५ हजार चार सय ५१ रुपैयाँ आम्दानी हुँदा एक करोड १५ लाख ४२ हजार एक सय १७ रुपैयाँ खर्च भएको हो ।
क्लबका अध्यक्ष केशवराज बरालले देशमा देखा परेको आर्थिक मन्दि र राष्ट्रिय खेलाडी विदेश पलायन हुँदा प्रतियोगिताको रौनक घट्दा क्लबलाई चुनौति थपिएको बताए । उनले प्रतियोगितामा घाटा हुुनुका विभिन्न कारण रहेको र क्लबले अध्ययन कमिटि बनाउन लागेको जानकारी दिए । ‘प्रतियोगिता घाटामा जाँदा हामीलाई निकै समस्या र चुनौति आइलागेको छ । हामीले घाटामा जानुको कारण के हो भनि सुस्म विश्लेषण गर्न अध्ययन कमिटि बनाउँदै छौं,’ उनले भने, यो टिमले प्रतिवेदन तयार पारी हामीलाई दिनुहुनेछ । जसले आगामी प्रतियोगिताका लागि सहज हुने विश्वास लिएका छौं ।’
प्रतियोगितामा उठेको रकम एक व्यक्तिले चलाई रकम नभएको चेक दिएका थिए । एक लाख १५ हजार रुपैयाँको चेक वाउन्स भएको बरालले जानकारी दिए । ती सदस्यले केही दिनमा रकम दिने बताएका कारण आफुहरु रोकिएको उनले सुनाए ।
यस पटक आहा रारा पोखरा गोल्डकपमा टिकटबाट २६ लाख ३७ हजार६ सय १३ रुपैयाँ आम्दानी भएको थियो । जसबाट खल्टी एपलाई टिकट बिक्री कमिशनमात्रै दुइ लाख ९८ हजार ७२ रुपैयाँ बुझाएको थियो । प्रतियोगितामा सबैभन्दा बढी खेलाडी दैनिक भ्रमण खर्चमा देखिएको छ । उक्त शिर्षकमा ३९ लाख ७३ हजार चार सय ५७ रुपैयाँ खर्च भएको देखिन्छ । त्यसपछि आयोजक खर्च देखिएको छ । सार्वजानिक आयव्ययअनुसार ११ लाख ५७ हजार ३० र आयोजक टिम तयारीमा पाँच लाख ६३ हजार सात सय ४० रुपैयाँ खर्च भएको छ । यस्तै प्रोत्साहन खर्च पनि १९ लाख ६२ हजार रहेको छ । प्रतियोगिता घाटामा गएपछि क्लबभित्रै असन्तुष्टि समेत व्यक्त भइरहेका छन् ।
प्रतियोगिता संयोजक पूर्ण गुरुङका अनुसार यस पटक भुटानी टिम ल्याएको र उनीहरुका लागि मात्रै करिब ८ लाख रुपैयाँ खर्च भएको बताए । जसका कारण प्रतियोगिताको खर्च रकममा वृद्धि भएको हो । हालै एएफसीमा चर्च ब्वाइजलाई हराएकै टिम आएपनि आहा गोल्डकपको पहिलो खेलमै हार व्यहोर्दा दर्शक तान्न नसकिएको उनको भनाइ थियो । प्रतियोगितालाई लोकप्रिय बनाउन राम्रो टिम ल्याउँदा खर्च भएपनि दर्शक सोचेअनुसार नआउँदा केही हदसम्म असर गरेको उनको भनाई थियो । क्लबका अध्यक्षले भने राष्ट्रिय खेलकुद परिषदले समेत आफुहरुलाई सहयोग नगरेको बताए । अघिल्ला संस्करणमा सहयोग गर्नेले समेत अहिले सहयोग नगर्दा आम्दानीमा कमी भएको उनले सुनाए ।





