पोखरा/वडा प्रहरी कार्यालय बैदामले यतिबेला फरार प्रतिवादी पक्राउ गर्न अभियान नै चलाएको छ । भदौ २१ गते सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न मुद्दामा फरार रहेका ८६ जना प्रतिवादीहरु पक्राउ गरेको भन्दै तथ्यांक सार्वजानिक गरेको थियो ।
प्रहरीले भदौ १ गतेदेखि ३१ गतेसम्म ६३ पुरुष र २३ जना महिलालाई पक्राउ गरेको सार्वजानिक गरेको थियो । विभिन्न १३ मुद्दामा फरार रहेका व्यक्तिलाई पक्राउ गर्दा सबैभन्दा बढी चेक अनादार मुद्दामा ५२ र लागु औषध मुद्दाका ९ फरार प्रतिवादीलाई पक्राउ गरेको थियो । उनीहरुबाट ८ वर्ष १० महिना १ दिन कैद सजायसँगै ४६ लाख ४२ हजार ९ सय रुपैयाँ जरिवाना असुल हुनेछ ।
फरार रहेकाहरुको खोजी गर्दै पक्राउ गर्नेमा बैदाम प्रहरी अघिदेखिएको छ । बैदामले भदौ १४ गतेदेखि शुक्रबारसम्म ७७ जना फरार रहेका व्यक्तिलाई पक्राउ गरेको हो । ७७ जनाबाट २७ लाख राजश्व र ८७ हजार चार सय ८७ रुपैयाँ पीडा कोषमा बचत भएको छ ।
वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष निरौलाले कैद तथा जरिवाना फैसला भएपछि फरार रहेकालाई पक्राउ गर्ने अभियान नै अघिबढाएको सुनाए । समाजमा शान्ति सुरक्षा कायम गर्नु प्रहरीको कर्तव्य भएकाले अदालतबाट कैद वा सजाय आदेशपश्चात फरार भएकालाई पक्राउ गरिएको उनको भनाइ छ ।
‘फरार प्रतिवादीलाई पक्राउ गर्न अभियानै चलाएको छु । अदालतबाट फैसला भएपछि फरार भएकाहरुले उन्मुक्ति पाउनु हुँदैन । यो अभियान चलाउनुको पछि राज्य नागरिकको साथमा छ भन्ने नै हो,’ उनले भने, ‘कैद फैसला हुन्छ तर पिडक खुलेआम डुलिरहेको हुन्छ । मैले एउटा टिमै बनाएर फरार प्रतिवादी पक्राउ अभियान चलाएको छु ।’
निरौलाले वैदामको नेतृत्व सम्हालेसँगै साउन ११ गते राति क्लब सिक्सटिन बाहिर भएको घटनामा संलग्नलाई पक्राउ गरेका थिए । क्लबभित्रको विवादलाई लिएर पृथ्वी गुरुङलाई दुई युवाले हेल्मेट र खुकुरी प्रहार गरेका थिए । प्रहरीले जाहेरी नपरे पनि भिडियो हेरेरै घटनाको अनुसन्धान गरेको थियो ।
प्रहरीले भदौ ६ गते म्याग्दी बेनी नगरपालिका ३ घर भइ हाल पोखरा ५ प्रस्याङ बस्दै आएका १९ वर्षिय लोकेश पाइजा र चितवन खैरेनी नगरपालिका ३ घर भए पोखरा १६ बस्दै आएका १९ वर्षीय जेम्स गुरुङलाई पक्राउ गरेको थियो । पक्राउ पश्चात पिडित पृथ्वी गुरुङले जाहेरी दिएका थिए । घटनाको एक महिनापश्चात जाहेरी दिएपछि प्रहरीले घाउ तथा चोटपटकको रिपोर्ट बनाउन भनेपछि अम्मरसिंहचोकस्थित अन्नपुर्ण अस्पतालमा देखाउँदा डाक्टरले सामान्य देखाएपछि अभद्र व्यवहारको मुद्दा दर्ता भएको थियो ।
‘पीडित पहिला नै आएको भए ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता हुने थियो । महिना दिनपश्चात आउँदा उसको घाउसमेत निको हुन लागेकाले डाक्टरले घाउ सामान्य भनेपछि अभद्रको मुद्दा चल्यो,’ निरौलाले भने । निरौलाले सार्वजानिक स्थानमा भएका घटनामा पीडित नआए पनि प्रहरीले नै प्रहरी प्रतिवेदन बनाएर मुद्दा चलाउन मिलेपनि व्यक्तिगत घटनामा भने पीडितले जाहेरी नै दिनुपर्ने बताए । त्यस्तो अवस्थामा प्रहरीले शान्ति सुरक्षाका लागि चाहेर पनि कानूनी कारवाही गर्न नसक्ने उनको भनाइ थियो । लोकेश र जेम्स २१ दिन थुनामा बसी भदौ २६ गते धरौटीमा रिहा भएका थिए ।





