
पोखरा/ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत स्वास्थ्य बिमा बोर्डबाट झन्डै साढे ३० लाख रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको जनाएको छ । उक्त रकम रोकिदाँ सेवा प्रवाहमा समस्या उत्पन्न भएको अस्पतालले जनाएको छ ।
अस्पतालका वरिष्ठ मेडिकल रेकर्ड अधिकृत भीमप्रसाद पौडेलका अनुसार आर्थिक वर्ष २०८०/०८१ को २४ करोड ७१ लाख ४५ हजार र चालु वर्षको दुई महिना (साउन र भदौ) को झन्डै ८ करोड गरी साढे ३० करोड रुपैयाँ स्वास्थ्य विमा बोर्डबाट भुक्तानी पाउन बाँकी छ । ठूलो अस्पताल भएकाले सेवाग्राहीको चाप पनि बढी नै रहेको र स्वास्थ्य विमा बाहेक अन्य बिरामीबाट आउने रकमले जेनतेन सेवा प्रवाह थामिएको पौडेलले बताए । ‘अव नआएमा अस्पताल संचालनमा नै समस्या आउने देखिन्छ’ उनले भने, ‘बोर्डमा सम्पर्क गर्दा बजेट नआएकाले भुक्तानी रोकिएको र आउनसाथ पठाउने आश्वासन आउने गरेको छ ।’ गत पुसयता जम्मा डेढ करोड रुपैयाँमात्र रकम आएको उनले बताए ।
अस्पतालका अनुसार दैनिक रुपमा एकहजार भन्दा बढी बिरामी स्वास्थ्य बिमा अन्तर्गत उपचारका लागि आउने गर्छन । सबैभन्दा बढी एकैदिन १२ सय २५ जनासम्म बिरामी आएको अस्पतालले जनाएको छ । उनीहरुको उपचारका लागि मासिक ४ करोड हाराहारीमा खर्च हुने गरेको छ । सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम अन्तर्गत बिमा गर्ने व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याव, सामान्य शल्यक्रिया र भर्नासमेत भएर उपचार सेवा लिन पाउनेछन । साथै निश्चित औषधी निशुल्करुपमा प्राप्त गर्छन । ओपीडी (बहिरंग) र इमर्जेन्सीमा आइटम बेस अुनसार अस्पतालले भुक्तानी दावी गर्छ । भर्ना भएर सेवा लिने बिरामीका लागि प्याकेज अनुसार भुक्तानी दावी गरिने र आइटम बेस र प्याकेजको दर स्वास्थ्य बिमा बोर्डको दर अनुसार रहने पौडेलले बताए । आइटम बेसमा औषधीको परिमाण, ल्याव परीक्षण, रेडियोलोजिकल सेवाका परिमाणहरु रहेका छन । अस्पतालमा स्वास्थ्य बिमासहित अन्य गरी दैनिक १ हजार ८ सय जना बिरामी आउने गरेका छन । सबैभन्दा बढीमा कुनै एकदिन २३ सय बिरामी अस्पतालमा सेवा लिन आएका थिए । संघीय सरकार मातहतको यो अस्पताल गण्डकी प्रदेशकै ठूलो हो । स्वास्थ्य बिमाका बिरामीहरु अधिकांशको रोजाइमा यो अस्पताल पर्ने गरेको छ । साथै अन्य अस्पतालबाट पनि यहाँ रिफर भई बिरामीहरु आउने गर्छन ।
अझै केही समय भुक्तानी रोकिए स्वास्थ्य बिमा सेवा नै बन्द गर्नुपर्ने अवस्था छ– निर्देशक खत्री
अस्पतालका निर्देशक प्राडा भरतबहादुर खत्रीले यति ठूलो रकमको भुक्तानी रोकिदाँ स्वास्थ्य बिमाको सेवा नै बन्द गर्नुपर्ने अवस्था आउन लागेको बताएका छन । कर्मचारीलाई तलब भत्ता खुवाउनदेखि औषधी खरीदलगायत समस्या उत्पन्न भइसकेको उनको भनाई छ । ‘३० करोड भन्दा बढी रकम चानचुने होइन’ थापाले भने, ‘अझै केही समय भुक्तानी रोकिए बिमा सेवा नै बन्द गर्नुपर्ने अवस्था छ । अहिलेसम्म जेनतेन थेगेका छौ ।’ उनले अन्य भुक्तानी रोकेर भए पनि कर्मचारीलाई तलब खुवाइएको बताए । अस्पतालमा ७ सय कर्मचारी छन ।
स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध ५ जनासम्म सदस्य भएका परिवारले एक वर्षमा एकलाख रुपैयाँसम्मको बिमा सुविना पाउने गरेका छन । त्यसका लागि ३ हजार ५ सय रुपैयाँ तिर्नुपर्छ । ५ जनाभन्दा बढी सदस्य भएमा थप रकम तिरेपछि स्वास्थ्य सेवा बिमा पाउन सकिन्छ ।

oplus_2
चिकित्सा सेवा आयोगको पनि ९ करोड भुक्तानी हुन बाँकी
यसैबीच पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा स्वास्थ्य बिमाको बाहेक चिकित्सा सेवा आयोगको पनि ९ करोड रुपैयाँ भुक्तानी हुन बाँकी छ । अस्पतालमा अध्ययनरत एमडी एमएसका विद्यार्थीलाई आउने छात्रबृत्ति र निर्वाह भत्तावापत्को उक्त रकम नआएको निर्देशक खत्रीले बताए ।
उक्त रकम एक वर्षको हो । एमडी एमएसमा हाल ९० विद्यार्थी छन । उनीहरुका लागि जनही ८ लाख रुपैयाँ वार्षिक रुपमा आउने गर्छ ।





