पोखरा/गण्डकी प्रदेशका पाँच जना क्रिकेट खेलाडीले अब मासिक पारिश्रमिक बुझ्ने भएका छन् । गण्डकी प्रदेशका पुरुष खेलाडी अर्जुन कुमाल, दीपक डुम्रे र सुवाष भण्डारी तथा महिलातर्फ स्याङजाकी कप्तान कुशुम गोदार र कास्कीकी कप्तान सिर्जना पौडेलले क्यानले प्रदान गर्ने मासिक पारिश्रमिक पाउने निश्चित भएको हो । उनीहरुले अक्टोबरबाट मासिक १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले यु–१९ गण्डकी प्रदेशस्तरीय पुरुष छनोट खेलको उद्घाटन सत्रमा बोल्दै सो कुरा बताएका हुन् । उनले आइसिसी र एसिसी ग्रासरुट लेभलमा लगानी गरेको र क्यानले पनि सुरुवातमा प्रदेशस्तरमा पाँच जना खेलाडीलाई मासिक पारिश्रमिक दिन लागेको र आफूहरुले खेलाडी छनोटको निर्णय गरेको सुनाए ।
नेपाल क्रिकेट संघले (क्यान) को भदौ १३ गतेको बैठकले हरेक प्रदेशमा पुरुष तीन र महिला दुई खेलाडीलाई मासिक पारिश्रमिक दिने निर्णय गरेको थियो । यो छनोट खेल कार्तिमा हुने राष्ट्रिय यु १९ प्रतियोगिताका लागि नेपाल प्रिमियर लिगमा उदीयमान खेलाडीको रुपमा छनोट गर्ने हुँदा प्रदर्शनी राम्रो गर्न सुझाव दिए ।
गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले आफू सांसद भइसकेपश्चात गण्डकीमा एउटा युवा तथा खेलकुद मन्त्रालय अनिवार्य हुनुपर्ने जिकिर रहेको बताए । उनले खेलकुदमा स्रोत जुट्ने अथाह सम्भावना भएपनि सोचको अभाव भएकाले समस्या आइरहेको सुनाए । ‘खेलकुदमा स्रोत धेरै चाहिँदैन । हाम्रोमा स्रोतको अभाव होइन सोचको अभाव हो । हामीले सोचलाई अलिकति विशिष्टीकृत गर्न सक्यौ भने, सोचलाई नै ग्राउन्ड तहमा लान सक्यौ भने स्रोत आफै आउँछ,’ उनले भने, ‘स्रोतलाई देखाएर सोच बन्धन बनाउने परिपाटीले खेलकुदको विकास हुँदैन ।’
यस्तै पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा कास्कीले पर्वतलाई ८ विकेटले हराएको छ । टस जितेर ब्याटिङ थालेको पर्वत २८.५ ओभरमा अलआउट हुँदै ६८ रनमा समेटियो ।
पर्वतका लागि किरण पौडेलले ७० बलमा ३ चौका प्रहार गर्दै सर्वाधिक २९ रनको योगदान दिए । यस्तै ओपरद्धय सन्देश खड्का र अभिराज पटेलले समान ११–११ रन जोडे । दिपेन्द्र भण्डारीले ५ तथा सोनु यादवले ३ रन जोडे । सचिन गिरि, सरोज बहादुर खत्री, दिक्सोन थापा मगर, समर बस्याल र साहिल सुवेदी शून्यमै आउट भए ।
कास्कीका लागि नितेश गिरिले ९ ओभरमा ६ मेडनसहित १० रन खर्चेर ३ तथा विमोचन सापकोटाले ७ ओभरमा १ मेडनसहित २७ रन खर्चेर ३ विकेट लिए । सत्कार चालिसेले ३ ओभरमा २ मेडनसहित ८ रन खर्चेर १ तथा किमरिन श्रेष्ठले ३.५ ओभरमा ६ रन खर्चदै २ विकेट लिए ।
जवाफि ब्याटिङ थालेको कास्कीले १२.५ ओभरमा २ विकेट गुमाइ ६९ रन बनाउँदै लक्ष्य पूरा ग¥यो । कास्कीका ओपनर सोहिल कुँवरले ३३ बलमा ३ चौका प्रहार गर्दै २३ रनमा नटआउट रहे । यस्तै किबरिन श्रेष्ठ ७ रनमा नटआउट रहे । सफल श्रेष्ठ ७ र रोहित चन्द ११ रनमा आउट भए ।
पर्वतका लागि सरोजबहादुर क्षेत्री र सुनिल क्षेत्रीले समान १–१ विकेट लिए । असोज १३ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल क्रिकेट संघ (क्यान) मा आबद्ध रहेका गण्डकीका ६ जिल्ला कास्की, पर्वत, तनहुँ, स्याङजा, नवलपुर र बागलुङको सहभागिता रहेको छ । ६ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा कास्की, पर्वत र तनहुँ तथा समूह ‘बी’ मा बागलुङ, नवलपुर र स्याङजा रहेको छ ।





