बागलुङ/चारतारे युवा क्लब, सिवाईसी नेपालले बागलुङ नगरपालिकावडा नं. ९ तित्याङस्थित भुजाकाटे र फुलबारी गाउँका न्यून आय भएका कृषकहरुलाई लक्षित गर्दै ‘बाख्रा पैंचो कार्यक्रम’को सुरुवात गरेको छ । बिहीवार आयोजित एक कार्यक्रमका बीच १० जना कृषकलाई बाख्रा वितरण गरी कार्यक्रमको शुरुवात गरिएको हो ।
न्यून आय भएका कृषकहरुलाई आयआर्जनमा सहयोग पुर्याउने तथा बाख्रापालनमार्फत आर्थिक सशक्तिकरण र सामुदायिक सहकार्यलाई प्रोत्साहन गर्ने उद्देश्यले सुरुवात गरिएको कार्यक्रममा कृषकहरु हस्त कुमारी सार्की, विष्णु कुमारी दमीनी, पवित्रा परियार, देवी परियार, गिता सार्की, पार्वती परियार, जुठी दमिनी, सपना परियार, शोनु नेपाली र जुठी परियारलाई बाख्रा वितरण गरिएको हो ।

बाख्रा वितरण कार्यक्रममा बोल्दै संस्थाका उपाध्यक्ष लक्ष्मण खड्काले यस कार्यक्रमले स्थानीय स्तरका न्यून आय भएका कृषकहरुको आयस्रोत वृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले कार्यक्रमको उद्देश्य कृषकहरुलाई आत्मनिर्भर बनाउनु, उनीहरुको आर्थिक स्तर उकास्नु र ग्रामीण क्षेत्रमा बाख्रापालन व्यवसायलाई प्रोत्साहन गर्नु रहेको बताए ।
कार्यक्रममा संस्थाका कार्यक्रम अधिकृत सुमन घर्ति क्षेत्रीले संस्थाले सञ्चालन गरिरहेको वातावरणमैत्री नमुना गाउँविकास कार्यक्रमअन्तर्गत बाख्रा पैंचो कार्यक्रम सुरुवात गरेको बताउँदै किसानहरुले प्राप्त बाख्राबाट उत्पादन भएको संख्या अनुसारको बाख्रा फिर्ता गरी थप किसानलाई वितरण गरि कार्यक्रमलाई दीर्घकालीन रुपमा निरन्तरता दिने संस्थाको उद्देश्य रहेको बताए ।
कार्यक्रममा बाख्रा प्राप्त कृषकहरुलाई बाख्राहरुको पुर्ण हेरचाह र व्यवस्थापन गर्नका लागि संस्थाद्वारा राखिएका शर्तहरुमा लिखित प्रतिबद्धता समेत गराईएको छ ।





