बागलुङ/बिहिबारदेखिनै निरन्तर झरी परिरहेको छ । अन्य कामका लागि मानिस खासै बाहिर निस्केका छैनन् । सरकारले लामो यात्रा समेत नगर्न सुझाएको छ । तर बागलुङमा स्थानीयले छाता ओडेर पर्यटन दिवश मनाएका छन् ।
झमझम परेको पानीसँगै बागलुङ नगर पर्यटन विकास समिति र पर्यटन कार्यालय बागलुङको अगुवाईमा सयौंले छाता ओडेर पर्यटन दिवशको ¥यालीमा सहभागि भए ।
¥यालीमा महिला समूहले नौमती बाजा बजाएका थिए भने भजनकृतन लगायतका साँस्कृतिक झाँकी समेत निकालेर बजार परिक्रमा गरिएको थियो । त्यसबाहेक मुल समारोहको प्रवचन कार्यक्रम पनि भयो । उक्त अवसरमा जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले देश विकासको मुल श्रोत पर्यटन भएको बताए । उनले संस्कार र संस्कृतिलाई प्रवर्दन गरेर नेपालमा पर्यटक भित्राउन सकिने बताए ।
त्यस्तै उनले विदेशी पर्यटकलाई पनि सुरक्षा र मनोरन्जन दिन सकेमा देशको विकासमा योगदान पुग्ने भन्दै पर्यटन दिवशमा यस्ता गतिविधिमा छलफल र निष्कर्ष आउनुपर्ने बताए । उनले भएका कामको उजागर गरेर सकारात्मक सन्देश दिंदा पर्यटक आउने वातावरण पनि बन्ने धारणा राखेका थिए ।
कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेृष्ठले विश्वभरका मानिस आउने वातावरण बनाउन सकिने बताए । विदेश गएका हरेक युवाले एकदुइ जना विदेशी पर्यटक ल्याउन पहल गर्दा करोड मानिस भित्रने भन्दै त्यसबाट नेपालमा रोजगारी बढ्न सक्ने श्रेष्ठले संभावना औल्याए । अब नगरपालिकाले पनि पर्यटन गुरुयोजना बनाएर दिगो काम थाल्ने बताए ।
नगर पर्यटन विकास समितिका अध्यक्ष तथा उपप्रमुख राजु खड्काको अध्यक्षता, पर्यटन कार्यालय बागलुङका प्रमुख पारसिंह थापाको स्वागत र उक्त कार्यालयकै अधिकृत बद्री गौतमको संचालनमा भएको कार्यक्रममा धौलागिरि बहुमुखी क्यामपसका सहप्राध्यापक डा. सुर्दशन सिलवाल, प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदी लगायतले मन्तव्य राखेका थिए ।
नगर पर्यटन समितिको आयोजनामा लोगो निर्माणमा उत्कृष्ठ भएका तथ्यांक अधिकृत चन्द्रकान्त सुवेदी र पर्यटन नारा बनाउने प्राध्यापक डा. दिनबहादुर थापा, सहप्राध्यापक सिलवाल र पत्रकार प्रकाश बराल तथा सदस्य सचिवको रुपमा काम गरेका ससबहादुर पुनलाई सम्मान गरिएको थियो ।
पर्यटन दिवश चार दिनसम्म बिभिन्न कार्यक्रम गरेर मनाउने समितिको निर्णय अनुसार यी गतिविधि भएका हुन् । चार दिनसम्म पर्यटन दिवश मनाउने योजना अनुसार सरसफाइ, शान्ति दौड, मुल समारोह, विद्यालय स्तरीय वक्तृत्वकला र वृहत पर्यटन योजना निर्माणका लागि छलफल लागयतका कार्यक्रम समावेश छन् ।










