बागलुङ/नयाँ घर सर्ने एक दम्पत्तिको सपना धादिङको झ्याप्लेखोलामा विलिन भएको छ । जिल्लाको बडिगाड गाउँपालिका वडा नं. २ दनियाका ५० वर्षिय इन्द्रबहादुर राना र भीमकुमारी झ्याप्लेखोला पहिरोमा पुरिएका हुन् ।
कतारमा काम गर्न गएका जेठो छोरा केशव आइतबार नेपाल फर्कंदै थिए । आफ्नो पनि पेन्सनको कागजात मिलाउनु थियो । तीन वर्षदेखि निर्माणाधिन बुटवलको घर सम्पन्न हुनै लागेकोले उनीहरुको परिवारमा उत्साह बढेको थियो ।
हालैमात्र बुटवलमा पक्की घर बनाएका राना दम्पत्तीले छोरा आएपछि घर सर्ने योजना बुनेका थिए । ३० वर्षसम्म भारतीय सेनाको जागिरपछि तीन वर्षअघि निवृत्त भएर फर्केपछि उनले बुटवलमा घर बनाइरहेका हुन् । घर सम्पन्न गर्ने, छोरा बिदेशबाट आउने र सबैलाई बोलाएर घरपैंचो गर्ने उनको इच्छा अधुरो रह्यो ।
गत शुक्रबार बुटवलबाट काठमाण्डौं जाँदै गरेको माइक्रोबसमा राना दम्पत्ती पुरिएका हुन् । उनीहरु दुवैको घटनास्थलमै मृत्यु भएको थियो । मंगलबार बडिगाड २ खरबाङस्थित बडिगाड खोला र दरमखोला संगममा राना दम्पत्तको अन्तिम संस्कार गरिएको छ । यहाँ कुमाल रानाको बस्ती छ । अधिकांस कुमालका घरहरु झुप्रा छन् । ज्यालामजदुरी गरेर खाने भएकोले पक्की घर बनाएर बस्न सकेका छैनन् । इन्द्रबहादुर भारतीय सेनाका जागिरे भएकोले आर्थिक रुपमा माथी उठेका थिए ।
मृतक रानाका तीनभाइ छोरा छन् । जेठो केशव कतारमा काम गर्थे । आइतबार मात्रै आउँदै भएकोले बाबुआमा लिन गएका हुन् । बिहानै हिंडेपनि बर्षात र पहिरोले समयमा गन्तव्यमा नपुग्दै उनीहरु चढेको गाडी झ्याप्ले खोलाको पहिरोमा पुरियो ।
इन्द्रबहादुरको पनि पेन्सनको कागजात बन्दै थियो । एकातर्फ घर बनाएको ऋण तिर्न बाँकी थियो त्यसैले छोराको पढाइ शुल्क पनि तिर्न भ्याएका थिएनन् । खरवाङस्थित त्रिभूवन माबिको कक्षा १२ मा पढ्ने माइलो छोरा सागरले बाबुआमा र दाइ फर्केपछि भर्ना गर्ने बताएका थिए । आइतबार दिउँसोसम्म पनि सागर र कक्षा ११ मा पढ्ने कान्छो भाइ सफललाई बाबुआमा पहिरोमा परेको जानकारी थिएन ।
विद्यालय पढेर घर फर्केपछि मात्र बाबुआमा घटनामा परेको जानकारी भएको हो । त्यसपछि छिमेकी गाउँलेसहित पुगेर मंगलबार बिहान शव गाउँ ल्याइपु¥याएका हुन् । ‘राना दम्पत्तिको शव आइपुग्दा तीनभाइ छोरासहित गाउँ शोकमग्न भयो’ त्रिभूवन माविका शिक्षक कमल पौडेलले भने, ‘गाउँमा सामाजिक काममा समेत सक्रिय भएर आर्थिक प्रगती गरेको व्यक्ति अस्ताउँदा धेरै जनामा निरासा छाएको छ ।’
सेनाबाट निवृत्त भएर आएपछि इन्द्रबहादुरले सामाजिक काममा अगुवाइ गर्न थालेका थिए । विद्यालयमा पढ्ने बिपन्न कुमाल बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गर्ने, गाउँको विकासमा अगुवाई गर्ने काम थालेका थिए । ‘बिपन्न बालबालिकालाई सहयोग गर्न थालेको मानिस पुरिंदा कुमाल बस्तीनै शोकमग्न छ’ पौडेलले भने, ‘घर बनाएर सर्ने उनको सपना पनि सपनामै रह्यो ।’





