लमजुङ / जिल्लाको मर्स्याङ्दी गाउँपालिका-२ घनपोखरा प्रोबी गाउँमा बुबाले प्रहार गरेको हँसियाबाट छोराको ज्यान गएको छ । प्रहरीका अनुसार ५७ वर्षीय बुबा सन्तबहादुर तामाङले २७ वर्षीय छोरा सोमबहादुर तामाङलाई हँसिया प्रहार गरेका थिए ।
लमजुङ प्रहरी प्रमुख डीएसपी निशान्त श्रीवास्तवका अनुसार शुक्रबार साँझ ५-६ बजेको समयमा दुवैजना मदिरा सेवन गरेर बसेको र एकआपसमा झगडा भएपछि घटना घटेको देखिन्छ ।
‘बाउछोराबीच भनाभन भएपछि सुरुमा छोराले बाउलाई मुक्का हानेको र त्यसपछि बुबाले नजिकैको हँसिया लिएर प्रहार गर्दा छोराको घाँटीमा लागेको देखिन्छ,’ उनले भने । उनका अनुसार बुबाको हँसिया प्रहारबाट गम्भीर घाइते छोरालाई शुक्रबार राति सवा ८ बजेतिर बेंसीसहरस्थित लमजुङ अस्पताल ल्याइएको थियो ।
लमजुङ अस्पतालमा सामान्य उपचारपछि चितवन रिफर गरिएकोमा भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा शनिबार बिहान सवा ३ बजेतिर घाइते सोमबहादुर तामाङको मृत्यु भएको डीएसपी श्रीवास्तवले बताए ।
उनका अनुसार घटनापछि तत्काल खुदी प्रहरी चौकीबाट प्रहरी खटिएको र घटनामा संलग्न सन्तबहादुर तामाङलाई नियन्त्रणमा लिइएको थियो । उनलाई जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरीले बताएको छ । घटनाको अनुसन्धान भइरहेको डीएसपी श्रीवास्तवले बताए ।





