काठमाडौँ — नेपालको पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिन सुरु भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आइतबार सुदूरपश्चिम प्रदेशबाट मनसुन बाहिरिएको छ भने कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्रको थोरै स्थानहरूबाट मनसुन बाहिरिएको छ ।
असोजको तेस्रो साता पुग्दा पनि पानी पर्न छाडेको छैन । तर अब दसैँसँगै मनसुन पनि बाहिरिने सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन् । विभागका अनुसार मनसुनी वायु कमजोर हुँदै गइरहेको छ । अब केही दिनपछि नेपालको बाँकी भूभागबाट समेत मनसुन बाहिरिने सम्भावना रहेको छ । ‘मौसम पूर्वानुमान महाशाखाले नियमित रुपमा मनसुन बहिर्गमन प्रक्रियालाई अनुगमन गरिरहेको छ । र यससम्बन्धी थप जानकारी अद्यावधिक गर्दै जानेछ,’ विभागले भनेको छ ।
आइतबार पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यमसम्म वर्षा भएको छ । मनसुन कायम रहेको क्षेत्रमा सोमबार र मंगलबार पनि मौसममा आंशिक बदली रहने विभागले जनाएको छ । यो वर्ष गत जुन १० मा मनसुन नेपाल भित्रिएको थियो । विज्ञहरूका अनुसार सरदर मितिभन्दा तीन दिन अगावै मनसुन नेपाल भित्रिएको थियो । नेपालमा औसतमा सरदर एक सय १२ दिन अर्थात् जुन १३ मा सुरु भएर अक्टोबर २ सम्म मनसुन रहने गरेको छ ।
यो वर्षको मनसुनमा काठमाडौँ उपत्यकासहित देशका २५ स्थानमा रहेका वर्षा मापन केन्द्रहरूको रेकर्ड ब्रेक हुने गरी अत्यधिक पानी परेको छ ।





