पोखरा/ नेपाली सेनाबाट निवृत्त भई यूएईको सार्जा पोर्ट हाप म्याराथन दौड प्रतियोगितामा ह्याट्रिक पूरा गर्न सफल कास्की रुपा गाँउपालिकाका धावक अर्जुन गोदारले झन्डै साढे २ दिनमा काठमाण्डौंदेखि पोखरासम्मको २ सय किलोमिटरको दुरी दौडेर पूरा गरेका छन । काठमाडौँको दशरथ रंगशालाबाट सोमबारदेखि सुरु दौड आज (बुधबार) दिउँसो करिब २ बजे उनले पार गर्दै पोखरा रंगशाला आइपुगेका हुन ।
धावक गोदारलाई पोखरा रंगशालामा विभिन्न संघ संस्थाहरुले स्वागत तथा बधाई ज्ञापन गरे । कास्की आदर्श समाज युएई, कास्की जिल्ला एथलेटिक्स संघ, जिल्ला खेलकुद बिकास समिति, पोखरा उद्योग बाणिज्य संघ, लेखनाथ उधोग बाणिज्य संघ, लायन्स क्लव, भूपू सैनिक हवाई सुरक्षा समिति गण्डकी, फल्याङकोट समाज कास्की लगायतका संघसंस्थाले स्वागत तथा बधाई ज्ञापन गरेका हुन । उनलाई बाटोमा नेपाली सेनाको टोलीले स्वागत गरेको सहयोगी विकास खड्काले जनाए । आफ्नो दौडको उक्त अभियानमा सहयोग गर्नेप्रति गोदारले धन्यवाद दिएका छन ।
जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख सुनबहादुर लामा, कास्की जिल्ला एथ्लेटिक्स संघका पूर्व अध्यक्ष गजबहादुर गुरुङ, पोखरा महानगर खेलकुद बिकास समितिका निवर्तमान अध्यक्ष दीपक बहादुर गोदार लगायतले अर्जुन गोदारलाई सम्मान पनि गरेका थिए ।
दैनिक ७० किलोमिटर दौड पूरा गर्ने गोदारको योजना रहे पनि पहिलो दिन काठमाण्डौं देखि मजिमटारसम्म ८६ कलिोमिटर, दोश्रो दिन मजिमटार देखि दमौली ७४ किलोमिटर र तेश्रो दिनमा दमौली देखि पोखरा रंगशाला ५० किलोमिटर दुरी पार गरेका हुन । उनलाई मोटरसाइकल राइडर सहितको एक टोलीले आवश्यक मेडिकल सहितको सुविधा समेत उपलब्ध गराइएको थियो । गोदारले आफ््नो व्यक्तिगत खर्चमा उक्त दौड पूरा गरेका हुन ।
कास्की रूपा गाउँपालिका १ फल्याङकोट निवासी ४४ वर्षीय गोदार काठमाडौँदेखि पोखरासम्मको क्षेत्रमा सडक दुर्घटना बढी भएर धेरैको जनधनको क्षेती भएकोले शान्तिको कामना सहित स्वास्थ्यको लागि खेलकुद भन्ने नाराका साथ उक्त दौड पूरा गर्ने अठोट गरेको बताउँछन । नेपाली सेनाको हवल्दार पदबाट निवृत भएका गोदार विगत ११ बर्ष देखि युएईको सार्जा पोर्टमा कार्यरत छन । केही दिनको बिदामा नेपाल आएका बेला उनले यो दौड दौडेका हुन । पोखरा म्याराथनमा सहभागी हुने लक्ष्य लिनु भएको गोदारले केही समय अगाडि पोखरामा आयोजना भएको क्रस कन्ट्री पर्वतीय दौड प्रतियोगितामा समेत सहभागी भएका थिए ।
गोदारलाई बुधवारै रुपा गाउँपालिकाले समेत स्वागत गरेको छ । रुपा गाउँपालिकाका उपाध्यक्ष लालसुब्बा गुरुङ सहितको टोलीले उनलाई स्वागत गरेको हो । अर्जुन गोदारको दौडले पोखरामा हुने म्याराथन दौडलाई धेरै सहयोग हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कास्कीका अध्यक्ष राजन पौडेलले बताए ।





