काठमाडौं / इजरायलले इरानमाथि शनिबार बिहानै भीषण हमला गर्यो। इरानले इजरायलमा आक्रमण गरेको २५ दिनपछि उसले इरानसँग बदला लिएको घोषणा गर्यो। इजरायलले इरानको मिसायल फ्याक्ट्री तथा सैन्य अड्डाहरुमा आक्रमण गरेको थियो। तेहरानको ‘इमाम खुमैनी अन्तर्राष्ट्रिय एयरपोर्ट’को छेउमा समेत आक्रमण गरिएको थियो। हमला स्थानीय समयअनुसार शनिबार बिहान २ः१५ बजे सुरु भएर ५ बजेसम्म गरेको थियो।
जेरुसेलम पोष्टका अनुसार इजरायलले इरानमाथि हमला गर्नका लागि १ सयभन्दा बढी फाइटर जेटको प्रयोग गरेको थियो। हमलामा आधुनिक एफ-३५ विमान पनि इजरायलले प्रयोग गर्यो।
आक्रमणपछि इजरायल, इरान र इराकले आफ्नो एयरस्पेस केही समयका लागि बन्द गरेका थिए। एयरस्ट्राइकपछि अमेरिकाले इजरायलको समर्थन गरेको थियो भने साउदीले इरानमाथिको आक्रमणलाई कुनै पनि देशको सम्प्रभुतामाथिको आक्रमण र अन्तर्राष्ट्रिय कानुनको उलंघन भन्दै निन्दा गरेको थियो। रुसले इरानलाई आक्रमणको केही घन्टाअघि इजरायलले आक्रमण गर्न सक्ने चेतावनी जारी गरेको थियो।
इरानको स्टेट न्युज एजेन्सी तस्निमका अनुसार कम्तीमा दुई इरानी सैनिक मारिएका छन्। इरानले इजरायलका धेरै आक्रमण आकाशमै निस्तेज पारेको र केही ठाउँमा सामान्य क्षति भएको बताएको छ। इजरायलले आक्रमणपछि फाइटर जेटहरु सुरक्षित फर्किएको जनाएको छ।
इजरायलका अनुसार इरानको सैन्य इलाकाहरुमा ब्यालेस्टिक मिसायल आक्रमण गरिएको थियो। उसले १ अक्टोबर र १४ अप्रिलमा इजरायलमाथि जहाँबाट आक्रमण भयो तीनै स्थानमा आक्रमण गरेको जनाएको छ।
इजरायलको आक्रमणपछि विश्वभर इरानले प्रत्याक्रमण गर्न सक्छ या सक्दैन भनेर चर्चाहरु भएका छन्। यद्यपि, इरानले तत्काल इजरायलमाथि जवाफी आक्रमण गर्ने सम्भावना नरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन्। इजरायलले पनि बदला पूरा भएको भन्दै अब आक्रमण नगर्ने बताएको छ।
इजरायल एकै पटक इरानको समर्थन प्राप्त रहेको गाजामा हमास, लेबनानमा हिजबुल्लाह, यमनमा हुती, इराक र इरानमा शिया फोर्सहरुसँग बहुक्षेत्रीय युद्ध लडिरहेको छ। इजरायलले औपचारिक रुपमा कुनै देशविरुद्ध आक्रमण गरेको जारी युद्ध भने इरानमाथिको हो। नत्र उसले कुनै पनि देशका विद्रोहीलाई लक्षित गरेर आक्रमण गरेको जनाउँदै आएको छ।





